


काठमाडौ, २४ जेठ। सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार पराजित गरेको छ । सोमबार दिउँसो भएको फाइनल खेलमा हङकङले दिएको १८९ रनको बलियो लक्ष्य पछ्याइरहेको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षा भएको थियो ।
त्यसपछि खेल हुन नसक्दा डीएलएस पद्धति अनुसार नेपाल विजयी भएको हो । डीएलएस पार स्कोर ९५ रहेको थियो । नेपाल १९ रनले अघि रह्यो । नेपालका लागि कुशल भुर्तेलले ४० बलमा ६५ रन बनाएर आउट भए । रोहित पौडेल ३५ रनमा तथा दीपेन्द्रसिंह ऐरी ९ रनमा नटआउट रहे ।हङकङका लागि एहसान खान र आयुष शुक्लाले १-१ विकेट लिए ।
नेपाल कीर्तिमानी जित हासिल गर्नबाट भने चुकेको छ । १८९ रनको लक्ष्य पूरा गरेर जित निकालेको अवस्थामा नेपालका लागि सर्वाधिक सफल रन चेज हुने थियो ।