


काठमाडौ, १ असार । फिफा विश्वकपमा १२ वर्षपछि पुनरागमन गरेको आइभरी कोस्टले प्रतियोगितामा सुखद सुरुवात गरेको छ। अमेरिकाको फिलाडेल्फियामा सम्पन्न समूह ‘ई’ को आफ्नो पहिलो खेलमा इक्वेडरलाई १-० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक हासिल गरेको हो।
अधिकांश समय गोलरहित बराबरी भएको खेलमा आइभरी कोस्टले खेलको ९०औँ मिनेटमा अमद डियालोले गरेको एकमात्र गोल निर्णायक बन्यो। सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका अमादले विलफ्रिड सिङ्गोको उत्कृष्ट दौडपछि आएको बललाई आफ्नो बायाँ खुट्टाले कुशलतापूर्वक पोस्टको जाली चुमाए।
यो गोलपछि इक्वेडरको लगभग दुई वर्षदेखि जारी १९ खेलको अपराजित यात्राको अन्त्य गरिदियो। आइभरी कोस्टका स्टार विङ्गर अमादलाई सुरुआती टोलीमा नराखिएको निर्णय धेरैका लागि आश्चर्यजनक थियो। तर उनले अन्तिम समयमा गोल गर्दै प्रशिक्षकको विश्वासलाई सही सावित गरे।
यस जितसँगै आइभरी कोस्टले समूह ‘ई’ बाट नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ। यस समूहमा जर्मनी र कुरासाओ पनि टोलीमा रहेका छन्। आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा पुग्ने लक्ष्यमा छ।
खेलमा इक्वेडर केही दुर्भाग्यशाली पनि रह्यो। पहिलो हाफमा जोहन एबोहा र अलान मिन्डाका प्रहार बारमा लाग्दा संभावित अग्रताको अवसर गुमेको थियो। दोस्रो हाफमा पनि अनुभवी फरवार्ड इनर भ्यालेन्सियाले गरेको उत्कृष्ट प्रयास पनि पोस्टमा ठोक्किदा टोली दुर्भाग्यपूर्ण बन्यो।
आइभरी कोस्टले पनि सिमित अवसरहरू सिर्जना गरेको थियो। दोस्रो हाफको सुरुवातमै एली वाहीको प्रहार बारमा लागेको थियो। प्रशिक्षक सेबासटियन बेकासीको नेतृत्वमा पछिल्ला १९ खेलमध्ये १२ खेलमा क्लिन सिट राखेको इक्वेडरले आइभरी कोस्टको आक्रमण, विशेषगरी स्टार लाइ नियन्त्रणमै राखेको थियो। तर निर्धारित समयको अन्तिम मिनेटमा अमाद डियाल्लोको जादुई गोलले उसका सबै योजना शून्यमा झारी दियो।