


काठमाडौं, ३ जेठ । फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्सले विजयी सुरुआत गरेको छ। भर्खरै सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोलले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा सबै गोल दोस्रो हाफमा भयो।
खेलको ६६ औं मिनेटमा किलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाए। योसँगै उनले फ्रान्सका लागि सर्वाधिक गोलको कीर्तिमानी तोडे ।
उनले ओलिभर जिरुडको ५७ गोलको कीर्तिमानी तोडेका हुन्। एम्बाप्पेले गोल संख्या ५८ पुर्याए। यस्तै, विश्वकपमा एम्बाप्पेले गोल संख्या १४ पुर्याएका छन्। उनी सर्वाधिक गोलबाट तीन गोलमात्रै टाढा छन्। यसक्रममा एम्बाप्पेले अर्जेन्टिनाका लियोनल मेसी र ब्राजिलका दिग्गज पेलेलाई समेत पछि पारे। मेसीले १३ तथा पेलेले १२ गोल गरेका छन्।
यस्तै, दोस्रो गोल ८२ औं मिनेटमा ब्राड्ली बार्कोलाले गरे। वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्ने बित्तिकै उनले गोल गरेका हुन्। यता खेल सकिनै लाग्दा इन्जुरी समयमा इब्राहिम एम्बाएले गोल गर्दै सेनेगललाई १–२ को स्थितीमा ल्याए।
त्यसलगत्तै एम्बाप्पेले शानदार गोल गर्दै फ्रान्सलाई ३–१ को जित दिलाए। जितसँगै समूह आई मा रहेको फ्रान्सले तीन अंक जोडेको छ।