


दमाैली ४ असार । तनहुँको शुक्लागण्डकीमा भ्रमपूर्ण र मित्था सूचनाबारे सचेतना कार्यक्रम गरिएको छ । प्रेस रजिष्टारको कार्यालय गण्डकी प्रदेशको आयोजना र शुक्लागण्डकी पत्रकार मञ्चको समन्वयमा बिहीबार सचेतना कार्यक्रम गरिएको हो ।
कार्यक्रमलाई शुभारम्भ गर्दै शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक ‘राजु’ ले सही सूचना मात्रै ग्रहण गर्नुुपर्ने बताए । उनले नेपाली समाज सिक्ने र उत्पादनको चरणमा रहेको बताउदैं सूचना प्रविधिमा आएको अभूतपूर्व विकासलाई स्वीकार गर्नूपर्ने बताए ।
गलत सूचनाबाट बढी प्रभावित भइरहेको उनको भनाइ थियो । गलत सूचना सही सूचना तुलनामा चाँडो फैलने उनको टिप्पणी थियो । ‘यो समाजमा गलत सूचनाबाट प्रभावित भएर समाजमा अगाडि बढिरहेको छ’, उपप्रमुख विकले भने ।
प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले असार साउनको भेलबाढी जस्तै सूचनाको बाढी आएकाले सही सूचना मात्रै लिनुपर्ने बताए । मित्था र भ्रमपूर्ण सूचनाले समाजालाई असर गर्ने उनको भनाइ थियो ।
गण्डकी प्रदेशकी प्रेस रजिष्टार विमला भण्डारीले अहिले सही सूचना र भ्रमणपूर्ण सूचना छुट्याउन नसक्दा नकरात्मक प्रभाव पारिरहेको बताइन् । सर्वसाधारणलाई सुसूचित गराएर सही सूचना मात्रै पढ्ने र शेयर गर्ने बानी बसाल्नुपर्नेमा उनको जोड थियो । ‘भ्रमपूर्ण र मित्था सूचनाबाट जोगाउन प्रेस रजिष्टारको कार्यालयले काम गरिरहेको छ’, उनले भनिन् ।
शुक्लागण्डकी पत्रकार मञ्चका अध्यक्ष राजन उपाध्यायले सामाजिक सञ्जालको उच्चतम् प्रयोगसँगै भ्रमपूर्ण र मित्था सूचना फैलिरहेको बताए । यसबाट जोगाउन नागरिकस्तरबाटै सचेतना आवश्यक रहेको उनको भनाइ थियो ।
एक दिने सचेतना कार्यक्रममा यस क्षेत्रमा क्रियाशिल पत्रकार, कन्टेन क्रियटर, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, राजनीतिक दलका प्रतिनिधि र सामाजिक अगुवाहरुको सहभागिता रहेको थियो । उनीहरुले आगमी दिनमा भ्रमपूर्ण र मित्था सूचनाबाट जोगिन र जोगाउन भूमिका खेल्ने प्रण गरेका छन् ।
अनुसन्धानकर्मी उज्वल प्रजापतिले भ्रमपूर्ण र मित्था सूचना के हो ? कसरी फैलन्छ ? कसरी जोगिने ? यस्ता सूचना फैलन नदिन क–कसको भूमिका के रहने लगायतका विषयमा सहजीकरण गरेका थिए । पत्रकार विनोद ढुंगानाले स्थानीयस्तरमा कसरी भ्रमपूर्ण र मित्था सूचना फैलिरहेको छ जानकारी गराएका थिए । पानी शुद्धीकरण गरेर पिएजस्तै सूचना पनि शुद्धीकरण गरेर ग्रहण गर्नुपर्ने उनको तर्क थियो ।