


दमौली, १५ असार । व्यास नगरपालिकाभित्र सञ्चालित होटल तथा रेष्टुरेन्टमा खाद्य स्वच्छता सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन गरिएको स्तरीकरण अभियान प्रभावकारी बन्दै गएको छ। अभियान अन्तर्गत सोमबार १० वटा होटल तथा रेष्टुरेन्टको निरीक्षण गर्दा ७ वटा स्तरीकरणमा पर्न सफल भएका छन्।
निरीक्षणका क्रममा व्यास नगरपालिका–४ स्थित सस इन र न्यू माछापुच्छ्रे होटलले हरियो (एक तारा) मध्यम स्तर प्राप्त गरेका छन्। त्यस्तै व्यास–५ को होटल रिभर भ्यू, व्यास–४ को टिका तास रेष्टुरेन्ट, न्यू थकाली भान्सा घर, सापकोटा भान्सा घर एण्ड लज (भोर्लेटार चोक) तथा व्यास–२ बागबजारस्थित होटल रोयल हाउस ले पहेँलो (सामान्य) स्तर हासिल गरेका छन्।
चौतारी होटल, न्यू मार्फाली होटल र शर्मिला आमा थकाली भान्सा घर एण्ड लज ले भने आवश्यक मापदण्ड पूरा गर्न नसकेपछि स्तरीकरण पाउन सकेनन्। ती होटलमा सुधारका लागि २० बुँदे सुझावसहितको स्टिकर टाँस गरिएको खाद्य डिभिजन दमौलीका प्रमुख ज्योति आचार्यले जानकारी दिए ।
अभियानको दुई दिनमा कुल २८ वटा स्तरीकरणयोग्य होटल तथा रेष्टुरेन्टको निरीक्षण गरिएकामा २० वटा स्तरीकरणमा पर्न सफल भएका छन्। स्तरीकरण प्राप्त गर्न नसकेका होटललाई आवश्यक सुधार गरी पुनः निरीक्षण गराउन आग्रह गरिएको उनले बताए।
उनका अनुसार स्तरीकरणको स्तर बढाउन इच्छुक होटल तथा रेष्टुरेन्टले सरसफाइ, फ्रिज व्यवस्थापन, किचनको संरचना तथा स्वच्छतासम्बन्धी अभिलेख प्रणाली निर्देशिका अनुरूप सुधार गरी साउन १ गतेपछि कार्यालयमा निवेदन दिन सक्नेछन्। यसअघि स्तरीकरण प्राप्त गरिसकेका होटलले पनि उच्च ग्रेडका लागि पुनः निरीक्षणको अवसर पाउनेछन्।
उपभोक्ताले स्वच्छ, सुरक्षित र गुणस्तरीय खाना उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो। स्थानीय तहले चाहेमा खाद्य स्वच्छता स्तरीकरणलाई अनिवार्य व्यवस्था बनाउन सकिने भएकाले यसले होटल तथा रेष्टुरेन्ट व्यवसायमा स्वच्छता र गुणस्तर कायम गर्न थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
अनुगमन टोलीमा व्यास नगरपालिकाबाट उपप्रमुख सहित अन्य कर्मचारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका खाद्य निरीक्षण अधिकारी अशोक गौतम, खाद्य डिभिजन, दमौलीबाट प्रमुख ज्योति आचार्य तथा खाद्य निरीक्षण अधिकारी सन्तोष थापा मगर, जिल्ला प्रहरी कार्यालय, नगर प्रहरी, होटल व्यवसायी संघ तनहुँका निवर्तमान अध्यक्ष दुर्गा विलास भट्टराई लगायत सहभागी थिए ।