२१३ औ भानु जयन्ती तीन दिनसम्म मनाइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    २१३ औ भानु जयन्ती तीन दिनसम्म मनाइने

    खबरपुञ्ज संवाददाता

    २१ असार २०८३, सोमबार

    दमौली, २२ असार । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका यतिबेला फेरि एकपटक साहित्यिक उत्सवको तयारीमा जुटेको छ। नेपाली भाषा, साहित्य र संस्कृतिको गौरवका रूपमा स्थापित भानुभक्तको जन्मजयन्तीलाई यस वर्ष पनि विविध सिर्जनात्मक तथा सांस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा मनाइने भएको छ।

    भानु नगरपालिकाका प्रमुख तथा भानु जन्मस्थल विकास समितिका अध्यक्ष आनन्दराज त्रिपाठीको अध्यक्षतामा आइतबार सम्पन्न समितिको बैठकले असार २७, २८ र २९ गते तीन दिनसम्म विविध कार्यक्रम सञ्चालन गरी २१३औँ भानु जयन्ती मनाउने निर्णय गरेको हो।

    भानु जन्मस्थल विकास समितिका कार्यकारी सचिव कृपाहरी लौडारीका अनुसार पहिलो दिन असार २७ गते भानुभक्तसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न मठमन्दिरमा पूजा–अर्चना गरिनेछ। दोस्रो दिन असार २८ गते भानुभक्तीय रामायण वाचन–पाठ प्रतियोगिता आयोजना गरिनेछ भने साँझ साहित्यकार, कवि तथा स्रष्टाहरूको सहभागितामा विशेष कवि गोष्ठी हुनेछ। यसले भानुभक्तले नेपाली भाषालाई पुर्‍याएको योगदानको स्मरण मात्र होइन, नयाँ पुस्तामा साहित्यप्रतिको आकर्षण बढाउने विश्वास गरिएको छ।

    मुख्य दिन अर्थात् असार २९ गते बिहान भानुभक्तको सालिकमा माल्यार्पणपछि झाँकीसहितको प्रभातफेरी निकालिने कार्यक्रम छ। त्यसपछि कविता वाचन, भानुभक्त आचार्यको जीवन, व्यक्तित्व र कृतित्वमाथि विशेष छलफल तथा भानु जन्मस्थलको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारका विषयमा संवाद कार्यक्रम सञ्चालन गरिने समितिले जनाएको छ।

    बैठकमा भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामे, प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठ, समितिका पदाधिकारी तथा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, आमा समूह, टोल विकास संस्थाका प्रतिनिधि तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले भानु जन्मस्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

    आदिकवि भानुभक्त आचार्यले नेपाली भाषामा रामायण अनुवाद गरेर साहित्यलाई जनताको पहुँचमा पुर्‍याएका कारण उनी नेपाली भाषा र साहित्यका अमर विभूति मानिन्छन्। उनका कृतिले नेपाली भाषाको विकासमा पुर्‍याएको योगदान आज पनि उत्तिकै सान्दर्भिक मानिन्छ। त्यसैले भानु जयन्ती केवल जन्मोत्सव नभई भाषा, साहित्य, संस्कृति र राष्ट्रिय पहिचानलाई पुनः स्मरण गर्ने अवसरका रूपमा हेरिन्छ।

    भानु जन्मस्थलमा हरेक वर्ष आयोजना हुने यस्ता कार्यक्रमले साहित्यिक वातावरण सिर्जना गर्नुका साथै आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय कला–संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा भानुभक्तको योगदानबारे जानकारी फैलाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्। यस वर्षको कार्यक्रमलाई अझ व्यवस्थित, सहभागितामूलक र प्रभावकारी बनाउन समितिले तयारीलाई तीव्र बनाएको जनाएको छ।