


दमौली, २३ असार । महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास गर्ने उद्धेश्यले म्याग्दे गाउँपालिकाले महिलालाई धुपबाट बत्ती बनाउने तालिम प्रदान गरेको छ ।
गाउँपालिकाले वडा नम्बर ५ का ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम प्रदान गरेको हो । स्थानीय स्तरमै उपलब्ध कच्चा पदार्थको उपयोग गर्दै गुणस्तरीय सुगन्धित धुप उत्पादन गर्न सकिने, न्यून लगानीमा घरमै बसेर व्यवसाय सञ्चालन गर्न सकिने तथा महिलालाई आयआर्जनसँग जोड्ने उद्धेश्यले तालिम आयोजना गरिएको गाउँपालिका आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेले जानकारी दिए।
पछिल्लो समय धार्मिक तथा सांस्कृतिक गतिविधिमा धुपको प्रयोग बढ्दै गइरहेको र बजारमा यसको माग निरन्तर विस्तार भइरहेकाले यस क्षेत्रमा उदमको राम्रो सम्भावना रहेको निष्कर्षसहित तालिम सञ्चालन गरिएको उनले बताए ।
आइतबारदेखि आजसम्म सञ्चालि तालिममा प्रमुख प्रशिक्षक पवित्रा लामिछानेले सहभागीलाई धुपबाट बत्ती उत्पादन गर्ने सम्पूर्ण प्रक्रिया व्यवहारिक रूपमा सिकाएकी थिइन् । उनले कच्चा पदार्थ छनोट, मिश्रण तयार गर्ने विधि, बत्ती बनाउने प्रक्रिया, सुकाउने तरिका, गुणस्तर परीक्षण, सुरक्षित भण्डारण, आकर्षक प्याकेजिङ, लेबलिङ, मूल्य निर्धारण तथा बजार व्यवस्थापनका विषयमा विस्तृत जानकारी दिइन् ।
म्याग्दे गाउँपालिकका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले महिलाको आर्थिक सशक्तीकरण गाउँपालिकाको प्रमुख प्राथमिकता मध्ये एक रहेको बताए । महिलालाई सीप, प्रविधि र उद्यमसँग जोडेर आर्थिक रूपमा सक्षम बनाउने उद्धेश्यका साथ विभिन्न सीपमूलक तालिम सञ्चालन गरिएको उनले उल्लेख गरे ।
उनले भने “तालिम केवल प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम होइन । यसबाट सिकेको सीपलाई व्यवसायमा रुपान्तरण गर्न सकियो भने परिवारको आय वृद्धि हुन्छ, रोजगारी सिर्जना हुन्छ र स्थानीय अर्थतन्त्र पनि बलियो बन्छ ।”
गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले महिलामा रहेको क्षमता, सिर्जनशीलता र परिश्रमलाई उत्पादनसँग जोड्न सके गाउँपालिकाको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए ।
प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले गाउँपालिकाले सञ्चालन गर्ने तालिमको वास्तविक उपलब्धि सहभागीले व्यवसाय सञ्चालन गरेपछि मात्र देखिने बताए । उनले तालिमपछि महिलाले समूह निर्माण गरी सामूहिक उद्यम सञ्चालन गर्न सके उत्पादन लागत घट्ने, बजार विस्तार गर्न सजिलो हुने तथा दीर्घकालीन रूपमा व्यवसाय सफल बन्ने धारणा व्यक्त गरे ।
यहाँका महिलाले धुप उत्पादनसम्बन्धी तालिमको माग गरेपछि सोहीअनुसार कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । वडाध्यक्ष शिवबहादुर आलेले यस वडालाई सुगन्धित धुप उत्पादनको ‘पकेट क्षेत्र’का रूपमा विकास गर्ने लक्ष्य रहेको बताए ।
उनले वडामा उत्पादन हुने धुपलाई स्थानीय ब्रान्डका रूपमा स्थापित गरी बजारसम्म पु¥याउने योजनामा गाउँपालिका र सम्बन्धित निकायसँग समन्वय गरिने बताए । “हामी वडामा उत्पादन हुने धुपलाई केवल स्थानीय प्रयोगमा सीमित राख्न चाहँदैनौँ । यसलाई व्यावसायिक रूपमा उत्पादन गरी बजारसम्म पु¥याउने, महिलाको आम्दानी बढाउने र वडालाई धुप उत्पादनको पहिचान बनाउने हाम्रो लक्ष्य हो,” उनले भने ।
तालिममा सहभागी शारदा उपरकोटीले तालिमबाट नयाँ सीप सिक्ने अवसर प्राप्त भएको बताउँदै घरायसी कामसँगै अतिरिक्त समयको सदुपयोग गरी धुप उत्पादन व्यवसाय सञ्चालन गर्न सकिने बताइन् ।
गाउँपालिकाले पछिल्ला वर्षहरूमा महिला उद्यमशीलता, सीप विकास, लघुउद्यम प्रवद्र्धन तथा स्थानीय उत्पादनको व्यवसायीकरणलाई प्राथमिकतामा राख्दै विभिन्न तालिम सञ्चालन गर्दै आएको छ ।