


दमाैली ७ साउन । तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लातर्फ रुख कटान सुरु भएको छ । यहाँको राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएसँगै रुख कटानको काम सुरु गरिएको हो । गत वैशाख २६ गते रुख कटानको अनुमति प्राप्त भएको थियो ।
डिभिजन वन कार्यालय चितवनसँग गरिएको सम्झौता अनुसार रुख कटान, काठ सङ्कलन तथा सुरक्षित भण्डारण सम्बन्धी कार्यहरु भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । रुख कटान तथा सुरक्षित भण्डारण सम्बन्धी अभिमुखीकरण पश्चात् सामुदायिक वन उपभोक्ता समूहहरुले रुख कटान तथा काठ सङ्कलन सुरु गरेको भण्डारीले बताए ।
उनले भने, “यी कार्यहरु तोकिएका स्वास्थ्य, सुरक्षा तथा वातावरण सम्बन्धी मापदण्डहरुको पूर्ण पालना गर्दै सञ्चालन गरिएको छ । कटान गरिएका काठहरुको उचित सङ्कलन, सुरक्षित भण्डारण तथा व्यवस्थापनमा सामुदायिक वन उपभोक्ता समूहहरुलाई सहयोग पु¥याउन आयोजनाले काठ भण्डारण स्थलको सुरक्षा सुदृढ गर्न तारबार एवं सिसिटिभी जडानका लागि आर्थिक सहयोग गरेको छ ।”
भरतपुर महानगरपालिका–१ स्थित व्यवस्थित वन (सतनचुली संरक्षित क्षेत्र) तथा सतनचुली सामुदायिक वन, साथै भरतपुर महानगरपालिका–२९ अन्तर्गत अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका १,२६३ वटा रुख कटान गरिने भण्डारीले बताए ।
यस्तै प्रसारण लाइन मार्ग अन्तर्गत तनहुँ जिल्लामा रुख छाप कार्य भइरहेको जनाइएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ मङ्सिर २० गतेको निर्णयअनुसार प्रसारण लाइन निर्माणका लागि चितवन र तनहुँ जिल्लामा पर्ने कुल ९२.७३ हेक्टर वन क्षेत्र (चितवनमा २५.२७ हेक्टर र तनहुँमा ६७.४६ हेक्टर) प्रयोग गर्न तथा उक्त क्षेत्रमा रहेका ९,१२७ वटा रुख हटाउन स्वीकृति प्रदान गरिएको थियो ।
प्याकेज ३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि केइसी इन्टरनेशनल लिमिटेड भारतले काम गरिरहेको छ । ३५ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरहरुमध्ये हालसम्म ८२ वटा टावरहरुको जग हाल्ने र ७२ वटा टावर जडान कार्य सम्पन्न भएको छ । यस प्याकेजको समग्र प्रगति ८१ प्रतिशत रहेको जनाइएको छ ।