


दमौली, ७ साउन । जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवामा अत्यधिक चाप बढेपछि सेवा प्रवाहलाई व्यवस्थित बनाउन नयाँ व्यवस्था लागू गरेको छ।
कार्यालयले जारी गरेको सूचनाअनुसार साउन ८ गतेदेखि राष्ट्रिय परिचयपत्रको फोटो खिचाउने तथा सम्बन्धित सेवा बिहान ८:०० बजेदेखि साँझ ६:०० बजेसम्म सञ्चालन गरिनेछ। सेवाग्राहीलाई टोकन प्रणालीअनुसार आफ्नो पालोमा धैर्यपूर्वक बसेर सेवा लिन अनुरोध गरिएको छ।
कार्यालयका अनुसार फोटो खिचाइसकेपछि राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त हुने भए पनि विभागको सिस्टम अपग्रेडका कारण एप्रुभ प्रक्रियामा केही ढिलाइ भइरहेको छ। उक्त प्रक्रिया क्रमशः पूरा हुने भएकाले त्यसका लागि पटक–पटक जिल्ला प्रशासन कार्यालय धाइरहन आवश्यक नपर्ने जनाइएको छ।
त्यस्तै, राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरिसकेका तर कार्ड अझै नपाएका सेवाग्राहीले अधिकांश सरकारी काम राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा गर्न सक्ने भएकाले केही दिन कार्यालयमा अनावश्यक रूपमा नआउन पनि प्रशासनले आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय तनहुँले सेवाग्राहीको सहजताका लागि आवश्यक व्यवस्था गरिएको उल्लेख गर्दै सबैलाई संयमित भई सेवा लिन अनुरोध गरेको छ।