


दमौली, ७ साउन । जिल्ला प्रहरी कार्यालय तनहुँले ट्राफिक प्रहरीसँगको समन्वयमा बिहीबार अपराह्न दमौलीस्थित पृथ्वी राजमार्गमा आकस्मिक सवारी चेकजाँच अभियान सञ्चालन गरेको छ।
अपराह्न ४:०० बजेदेखि ५:३० बजेसम्म सञ्चालन गरिएको अभियानका क्रममा १४१ वटा सवारी साधनको जाँच गरिएको थियो। चेकजाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि ५ वटा सवारी साधनलाई ट्राफिक नियमअनुसार जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
प्रहरीका अनुसार सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन तथा सडक सुरक्षा सुदृढ गर्ने उद्देश्यले यस्ता आकस्मिक चेकजाँच अभियान नियमित रूपमा सञ्चालन हुँदै आएका छन्। चालक तथा सवारीधनीलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, आवश्यक कागजात साथमा राख्न तथा सुरक्षित रूपमा सवारी सञ्चालन गर्न पनि प्रहरीले आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँले आगामी दिनमा पनि राजमार्ग तथा जिल्लाका विभिन्न स्थानमा यस्ता आकस्मिक ट्राफिक अनुगमन तथा चेकजाँच अभियानलाई निरन्तरता दिने जनाएको छ।