


दमौली, ७ साउन । तनहुँ–२ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेको पहलपछि जिल्ला प्रशासन कार्यालय तनहुँबाट प्रदान हुँदै आएको राष्ट्रिय परिचयपत्र र राहदानी सेवामा सुधार हुने भएको छ।
सांसद न्यौपानेले सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक कृष्ण पौडेल तथा त्रिपुरेश्वरस्थित राहदानी विभागका महानिर्देशक दीपक विकसँग छुट्टाछुट्टै भेट गरी तनहुँका सेवाग्राहीले राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन घण्टौँ लाइन बस्नुपर्ने समस्याको तत्काल समाधान गर्न आग्रह गरेका थिए।
भेटपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले आगामी हप्ताभित्र ३ सेट दर्ता प्रणाली र १ जना कर्मचारी जिल्ला पठाउने निर्णय गरेको छ। त्यसैगरी, राहदानी विभागले १ सेट थप प्रणाली उपलब्ध गराई स्टेशन अपग्रेड गर्ने जनाएको छ।
यस्तै, गृह मन्त्रालयबाट १ जना कम्प्युटर अपरेटर र २ जना खरिदार गरी ३ जना थप जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता पनि प्राप्त भएको सांसद न्यौपानेले जानकारी दिएका छन्।
यसैबीच, जिल्ला प्रशासन कार्यालय तनहुँले सेवा समय विस्तार गर्ने, टोकन प्रणाली लागू गर्ने तथा सेवाप्रवाहलाई थप व्यवस्थित बनाउन आवश्यक तयारी अघि बढाएको जनाएको छ।
सांसद न्यौपानेका अनुसार राष्ट्रिय परिचयपत्र प्रणालीको सुस्त सञ्चालन अझै मुख्य चुनौती रहेकाले यसको क्षमता अभिवृद्धि र प्राविधिक सुधारका लागि सम्बन्धित निकायसँग थप समन्वय र पहल जारी रहनेछ।
उनले तनहुँबासीले सहज, छिटो र सम्मानजनक सेवा पाउनुपर्नेमा जोड दिँदै यसका लागि निरन्तर पहल र समन्वयमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस विषयमा कार्यालय प्रमुखहरूको बैठकमा उठाइएको प्रस्ताव कार्यान्वयनका लागि सम्बन्धित निकायसँग पत्राचार तथा समन्वय गरेको भन्दै सांसद न्यौपानेले तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।