‘जनताको सुख–दुःखमा सँगै’ अभियानमा रास्वपा तनहुँ, हरेक महिना फरक पालिकामा जिल्ला बैठक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘जनताको सुख–दुःखमा सँगै’ अभियानमा रास्वपा तनहुँ, हरेक महिना फरक पालिकामा जिल्ला बैठक

    खबरपुञ्ज संवाददाता

    ६ श्रावण २०८३, बिहीबार

    दमौली, ७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँले संगठनलाई जनतासँग थप जोड्ने र आगामी स्थानीय तह निर्वाचनको तयारीलाई प्रभावकारी बनाउने उद्देश्यसहित प्रत्येक महिनाको ७ गते फरक–फरक स्थानीय तहमा जिल्ला बैठक गर्ने निर्णय गरेको छ।

    रास्वपा तनहुँका जिल्ला सचिव अनिल श्रेष्ठका अनुसार दोस्रो बैठक बिहीबार शुक्लागण्डकी नगरपालिकाको दुलैगौडामा सम्पन्न भएको छ । यसअघि व्यासको दमौलीमा पहिलो बैठक गरिएको थियो ।

    जिल्लाका अन्य पालिकामा पालैपालो बैठक सञ्चालन गरिने योजना रहेको उनले बताए।

    श्रेष्ठले बैठकलाई जिल्लाभरका नेता–कार्यकर्ताबीच समन्वय, सक्रियता र उत्प्रेरणा बढाउने माध्यमका रूपमा लिइएको उल्लेख गरे। एउटै स्थानमा मात्र बैठक केन्द्रित नगरी सबै पालिकामा पुग्दा संगठन बलियो हुनुका साथै स्थानीय समस्याबारे प्रत्यक्ष जानकारी लिन पनि सहज हुने उनको भनाइ छ।

    उनका अनुसार बैठकमा आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार, वडा तहसम्म पार्टी संरचना सुदृढ गर्ने, जनसम्पर्क अभियान सञ्चालन गर्ने तथा चुनावी तयारीका विषयमा नियमित छलफल गरिनेछ।

    पार्टीको केन्द्रीय संगठन विभागको निर्देशनअनुसार जनतामुखी कार्यक्रमलाई प्राथमिकतामा राख्ने निर्णय भएको उल्लेख गर्दै श्रेष्ठले रास्वपाका नेता–कार्यकर्ताले नागरिकको सुख–दुःखमा साथ दिने, सामाजिक उत्तरदायित्व निर्वाह गर्ने र जनविश्वास बढाउने गरी काम गर्ने बताए।

    “पार्टी केवल निर्वाचनका बेला मात्र होइन, जनताको हरेक सुख–दुःखमा साथ दिने संगठनका रूपमा स्थापित हुन चाहन्छ। त्यसका लागि जिल्लाभरका कार्यकर्तालाई सक्रिय र जनतासँग जोडेर अघि बढ्ने रणनीति बनाइएको छ,” सचिव श्रेष्ठले भने।

    रास्वपा तनहुँका सभापति विश्व बास्तोलाको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।