


दमौली, ८ साउन । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको टोलीले बिहीबार सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ९ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले लागुऔषध नियन्त्रण, अवैध मदिरा नियन्त्रण, शान्ति सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत–साधनको अनाधिकृत प्रयोग नियन्त्रण गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा विशेष अभियान सञ्चालन गरेको जनाएको छ।
अभियानका क्रममा नियन्त्रणमा लिइएका ९ जनामध्ये ८ जनालाई आवश्यक अनुसन्धानपछि आफन्तको जिम्मा लगाइएको छ भने एक जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वारिकाप्रसाद घिमिरेले जिल्लामा शान्ति सुरक्षा कायम राख्न यस्ता सर्च एण्ड स्विप अपरेसनलाई निरन्तरता दिइने बताउँदै कानुनविपरीत गतिविधिमा संलग्न जोसुकैमाथि पनि आवश्यक कानुनी कारबाही गरिने बताए। साथै, शंकास्पद गतिविधिबारे प्रहरीलाई समयमै जानकारी गराई सहयोग गर्न सर्वसाधारणसँग उनले आग्रह गरे।