


दमौली, ८ साउन । तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित पृथ्वी राजमार्गमा ट्याक्टर चालक चक्कर लागेर ढलेपछि प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार शुक्रबार बिहान करिब ११:१५ बजे गोरखाबाट बिग्रिएको जिप मर्मतका लागि पोखरा लैजाँदै गरेको ग१ त ७२१७ नम्बरको ट्याक्टरका चालक गोरखा जिल्लाको सिरानचोक गाउँपालिका–५ छोप्राक निवासी २६ वर्षीय सुजन बिकलाई अचानक चक्कर लागेर ढलेको सूचना प्राप्त भएको थियो।
सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले चालक बिकको उद्धार गरी एम्बुलेन्समार्फत प्रदेश अस्पताल दमौली पठाएको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।