


दमाैली १० साउन । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा र परीक्षा नियन्त्रक प्रा.डा. लक्ष्मण पौडेलले शनिवार दिउसो आदिकवि भानुभक्त क्याम्पसको अनुगमन भ्रमण गरेका छन् ।
भ्रमणका क्रममा उपकुलपति थापा र परीक्षा नियन्त्रक पौडेलले क्याम्पसको शैक्षिक एवं भौतिक पूर्वाधारहरुको अवलोकन गरेका थिए।
उक्त अवसरमा क्याम्पस प्रमुखको कार्यकक्षमा भएको छलफलका क्रममा उपकुलपति प्रा.डा. थापाले छिट्टै गण्डकी प्रदेश स्तरमा पोखरामा दिक्षान्त समारोहको आयोजना गर्ने, क्याम्पसहरूले सञ्चालन गर्दै आएको अटोनोमस कार्यक्रमलाई पुनः अगाडी बढाउने, शैक्षिक गुणस्तर वृद्धिलाई महत्व दिने, प्रकृया पुऱ्याई विषय थपलाई टुंगोमा पुऱ्याउने जानकारी गराएका थिए ।
उनले त्रिवी अन्तर्गतका क्याम्पसहरूमा यो आफ्नो पहिलो भ्रमण भएको र सामुदायिक क्याम्पस योगदानको बारेमा आफू जानकार रहेको तथा सामुदायिक क्याम्पसहरूका समस्याहरूको समाधानका लागि आफूले धैर्यताका साथ सहकार्यमा काम गर्दै जाने बताए।
उक्त अवसरमा आदिकवि भानुभक्त क्याम्पसको शैक्षिक, आर्थिक र भौतिक गतिविधि भावि रणनिती र चुनौतिको बारेमा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी गराएका थिए । उक्त अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनार, उपाध्यक्ष श्रीराम कार्की, सहायक क्याम्पस प्रमुखहरू-डा. रामकुमार अधिकारी र विमल गिरी लगायतको उपस्थिति रहेको थियाे ।
आदिकवि भानुभक्त क्याम्पसकाे इतिहासमा उपकुलपतिले क्याम्पसकाे अवलाेकन भ्रमण गरेकाे पहिलाे पटक हाे ।