दुलेगौंडा–हर्कपुर मोटरमार्गको उदेनढुंगामा बिग्रिएको सडक मर्मत, स्थानीयको श्रमदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दुलेगौंडा–हर्कपुर मोटरमार्गको उदेनढुंगामा बिग्रिएको सडक मर्मत, स्थानीयको श्रमदान

    खबरपुञ्ज संवाददाता

    ९ श्रावण २०८३, आईतवार

    दमाैली १० साउन । शुक्लागण्डकी नगरपालिका–३ को कार्यालयको पहलमा दुलेगौंडा–हर्कपुर मोटरमार्ग अन्तर्गत उदेनढुंगा क्षेत्रमा बिग्रिएको सडक आइतबार मर्मत गरिएको छ। लामो समयदेखि सडक जीर्ण बन्दै गएपछि सवारी आवागमनमा कठिनाइ हुँदै आएको थियो भने स्थानीयवासीले दैनिक सास्ती व्यहोर्दै आएका थिए।

    सडकको अवस्था अत्यन्तै खराब बनेपछि स्थानीय तह, जनप्रतिनिधि तथा सर्वसाधारणको ध्यानाकर्षण भएको थियो। त्यसपछि वडा कार्यालयको समन्वयमा सडक मर्मतको काम अघि बढाइएको हो। मर्मत कार्यमा स्थानीय बासिन्दाले समेत श्रमदान गर्दै सक्रिय सहभागिता जनाएका थिए।

    स्थानीयका अनुसार वर्षायामसँगै सडकमा ठूला खाल्डाखुल्डी परेका थिए। सडक हिलाम्मे र जोखिमपूर्ण बनेपछि मोटरसाइकल, साना तथा ठूला सवारीसाधन सञ्चालन गर्न निकै कठिन भएको थियो। दैनिक यात्रु, विद्यार्थी, किसान तथा व्यवसायी सबैभन्दा बढी प्रभावित भएका थिए।

    उक्त सडक निर्माणको जिम्मा पाएको शंकरमाली कन्सट्रक्सनले सम्झौताअनुसार समयमै काम सम्पन्न नगर्दा सडकको अवस्था झन् बिग्रिएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्। निर्माण कार्यमा भएको ढिलासुस्तीका कारण सर्वसाधारणले अनावश्यक सास्ती भोग्नुपरेको उनीहरूको गुनासो छ।

    सडकको दयनीय अवस्थाबारे सामाजिक सञ्जालदेखि विभिन्न माध्यमबाट लगातार आलोचना भएपछि सम्बन्धित निकायको ध्यानाकर्षण भएको थियो। त्यसपछि वडा कार्यालयको पहलमा तत्काल मर्मत गरी सवारी सञ्चालन सहज बनाउने प्रयास गरिएको हो।

    स्थानीयवासीले भने अहिले गरिएको मर्मतलाई अस्थायी समाधान मात्र भएको बताएका छन्। उनीहरूले सडकको दिगो स्तरोन्नति गरी गुणस्तरीय निर्माण कार्य शीघ्र सम्पन्न गर्न सम्बन्धित निर्माण कम्पनी र सरोकारवाला निकायसँग माग गरेका छन्।