दाहसंस्कार सेवा निःशुल्क बनाउन व्यास नगरपालिकामा ज्ञापनपत्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दाहसंस्कार सेवा निःशुल्क बनाउन व्यास नगरपालिकामा ज्ञापनपत्र

    खबरपुञ्ज संवाददाता

    १० श्रावण २०८३, सोमबार

    दमौली, ११ साउन । व्यास नगरपालिका–१ का दीपकराज न्यौपानेले दाहसंस्कार सेवा निःशुल्क तथा सहुलियतपूर्ण बनाउन माग गर्दै व्यास नगरपालिकाका नगर प्रमुखसमक्ष ज्ञापनपत्र बुझाएका छन्।

    ज्ञापनपत्रमा स्थानीय सरकारले नागरिकबाट संकलन हुने भूमि कर, सम्पत्ति कर, सरसफाइ कर, घरबहाल कर तथा व्यवसाय करको सदुपयोग गर्दै नागरिकको जन्मदेखि मृत्युसम्म अभिभावकत्वको अनुभूति गराउनुपर्ने उल्लेख गरिएको छ।

    नागरिकको निधनपछि घाट शुल्क, काठ तथा अन्य सामग्री र शववाहन खर्चका कारण विपन्न तथा निम्न–मध्यम वर्गका परिवार आर्थिक रूपमा थप पीडामा पर्ने भएकाले स्थानीय सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने माग गरिएको छ।

    ज्ञापनपत्रमा स्थानीय घाटमा दाहसंस्कारका लागि लाग्ने सेवा शुल्क तथा काठको व्यवस्था पूर्ण रूपमा निःशुल्क गर्न, घर वा अस्पतालदेखि घाटसम्म २४सै घण्टा निःशुल्क शववाहन सेवा सञ्चालन गर्न, आर्थिक रूपमा असहाय परिवारका लागि ‘दाहसंस्कार सहयोग कोष’ स्थापना गर्न तथा स्थानीय करबाट निश्चित प्रतिशत बजेट छुट्याई ‘दाहसंस्कार तथा घाट व्यवस्थापन कोष’ गठन गर्न माग गरिएको छ।

    त्यसैगरी, घाट क्षेत्रमा २४सै घण्टा विद्युत् तथा हाई–मास्ट सोलार/विद्युतीय बत्तीको व्यवस्था गर्न र वैदेशिक रोजगारीका कारण शव बोक्ने मानिसको अभाव बढ्दै गएकाले निःशुल्क शववाहन सेवा अपरिहार्य बनेको ज्ञापनपत्रमा उल्लेख छ।

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले यस्ता सेवा सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई दिएको उल्लेख गर्दै आगामी नीति, कार्यक्रम तथा बजेटमा यी विषय समावेश गरी कार्यान्वयन गर्न ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ।