


दमाैली १२ साउन । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा आज यात्रुबाहक टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार लामागाउँबाट दुलेगौंडातर्फ आउँदै गरेको लु.प्र.०२–००१ ज ०२३१ नम्बरको टाटा सुमो सडकको भित्तामा ठोक्किएर दुर्घटनामा परेको हो ।
दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी निरीक्षक धन नारायण श्रेष्ठको कमाण्डमा ट्राफिक प्रहरीसहित ९ जनाको टोली घटनास्थलमा खटिएको थियो । दुर्घटनापछि घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये नौ जनाको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, बेलचौतारा र तीन जनाको तनहुँ सेवा अस्पताल, दुलेगौंडामा उपचार भइरहेको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
दुर्घटनामा सुमो चालक, शुक्लागण्डकी नगरपालिका–१२ निवासी ४८ वर्षीय केशबहादुर सुनार मध्यम घाइते भएका छन् भने अन्य घाइतेहरूको अवस्था सामान्य रहेको प्रनाउ घिमिरेले बताए ।