


काठमाडौ, १२ साउन । तनहुँ–२ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले भिमाद बजार, ढोरफिर्दीलगायत देशभर रहेका अव्यवस्थित बसोबासको दीर्घकालीन व्यवस्थापन तथा जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरणका लागि ‘वस्ती विकास ऐन’ निर्माणको नयाँ अवधारणासहित नीतिगत पहल अघि बढाउन कानूनमन्त्री सोविता गौतमसमक्ष अनुरोध पत्र हस्तान्तरण गरेका छन्।
सार्वजनिक जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका नागरिकहरूको समस्या समाधानका लागि विद्यमान कानुनी व्यवस्थाको समीक्षा, आवश्यक कानुनी सुधार तथा ऐनमार्फत लालपुर्जा उपलब्ध गराउने सम्भावनाबारे छलफल भएको सांसद न्यौपानेले जानकारी दिएका छन्। यसअघि भूमि व्यवस्था मन्त्री तथा भवन विभागका महानिर्देशकसँग पनि यस विषयमा परामर्श गरिएको उनले उल्लेख गरेका छन्।
छलफलमा अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्दै नागरिकको आवासीय सुरक्षाको सुनिश्चितता गर्ने, सार्वजनिक जग्गाको उचित व्यवस्थापन गर्ने तथा दीर्घकालीन समाधानका लागि स्पष्ट कानुनी आधार तयार गर्नुपर्ने विषयमा जोड दिइएको थियो।