


दमौली, १२ साउन । व्यास नगर कार्यपालिकाको २४३औँ नियमित बैठक नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा सम्बन्धित शाखा–उपशाखा प्रमुखहरूको उपस्थितिमा विभिन्न विषयमा छलफल गरी सात वटा महत्त्वपूर्ण निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
बैठकले मिति २०८३/०४/०१ गते बसेको २४२औँ कार्यपालिका बैठकका निर्णयहरूको समीक्षा गरेको छ।
त्यसैगरी, व्यास–११ स्थित विद्या पोल्ट्री एवं कृषि फर्म प्रा.लि.को मागबमोजिम कृषि प्रयोजनका लागि खरिद–बिक्री हुने जग्गाको रजिस्ट्रेशनमा प्रचलित कानुनअनुसार लाग्ने राजस्वमा नियमानुसार छुट प्रदान गर्न सिफारिस गर्ने निर्णय गरिएको छ।
निर्माणाधीन पराशर मार्गको कार्यप्रगति समीक्षा गर्दै व्यास–७, ९, १० र ११ मा निर्माण कार्यमा भएको ढिलाइप्रति चासो व्यक्त गरिएको छ। सार्वजनिक खरिद (पन्ध्रौँ संशोधन) नियमावली, २०८३ बमोजिम सम्बन्धित निर्माण व्यवसायीलाई सात दिनभित्र नगरपालिकामा उपस्थित भई हालसम्मको कार्यप्रगति विवरण र बाँकी निर्माण सम्पन्न गर्ने लिखित प्रतिबद्धता पेश गर्न निर्देशन दिने निर्णय गरिएको छ।
बैठकले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक समीक्षा कार्यक्रम आगामी साउन २९ गते शुक्रबार बिहान ११ बजे नगर सभा कक्षमा आयोजना गर्ने तथा आवश्यक व्यवस्थापन गर्न कार्यालयलाई निर्देशन दिएको छ।
यस्तै, आर्थिक वर्ष २०८३/०८४ का लागि सार्वजनिक खरिद नियमावलीअनुसार कामदारको ज्याला, निर्माण सामग्री ढुवानी तथा मेसिन–उपकरणको भाडादर स्वीकृत गर्ने निर्णय गरिएको छ।
निर्माण कार्यलाई व्यवस्थित बनाउन व्यास नगरपालिका क्षेत्रभित्र कार्य गर्ने निर्माणकर्मीहरूको दर्ता तथा सूचीकृत सम्बन्धी कार्यविधि, २०८३ पारित गरिएको छ। साथै, व्यास नगरपालिका लोक कल्याणकारी विज्ञापन वितरण सम्बन्धी कार्यविधि, २०८० तथा भवन निर्माण मापदण्ड, २०८२ संशोधन गर्ने निर्णय पनि बैठकले गरेको छ।