साइकल चोरी भए पनि निरञ्जन अर्यालको विश्वयात्रा रोकिएन, नयाँ साइकल किनेर यात्रा निरन्तर गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    साइकल चोरी भए पनि निरञ्जन अर्यालको विश्वयात्रा रोकिएन, नयाँ साइकल किनेर यात्रा निरन्तर गर्ने

    खबरपुञ्ज संवाददाता

    १३ श्रावण २०८३, बिहीबार

    दमाैली १४ साउन । तनहुँको घिरिङ गाउँपालिकाका युवा निरञ्जन अर्यालले जलवायु परिवर्तनप्रति विश्वव्यापी सचेतना फैलाउने र विश्व शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले सगरमाथादेखि अन्टार्कटिकासम्मको साइकल यात्रा जारी राखेका छन्। यात्राको २२औँ महिनामा उनी १३औँ देश भियतनामको राजधानी हनोई पुगेका छन्।

    यात्राकै क्रममा भने अर्यालले अप्रिय घटना बेहोर्नुपरेको छ। हनोईमा उनको साइकल चोरी भएको हो। चोरीपछि स्थानीय प्रहरीसमक्ष जानकारी गराए पनि खोजी तथा अनुसन्धानमा अपेक्षित सहयोग नपाएको उनले बताएका छन्।

    विश्वयात्राका लागि अत्यन्तै महत्वपूर्ण साधन रहेको साइकल चोरी भए पनि उनले आफ्नो अभियान नरोकिने स्पष्ट पारेका छन्। नयाँ साइकल खरिद गरेर बाँकी यात्रा निरन्तर अघि बढाउने तयारीमा रहेको उनले जनाएका छन्।

    अर्यालले जलवायु परिवर्तनका असरबारे विश्व समुदायलाई सचेत गराउँदै शान्ति, वातावरण संरक्षण र दिगो जीवनशैलीको सन्देश बोकेर विभिन्न देशको भ्रमण गरिरहेका छन्। हालसम्म १३ देशको यात्रा पूरा गरेका उनले अब चीन, रुस, मङ्गोलिया लगायतका देशमा साइकल यात्रा गर्ने योजना रहेको बताएका छन्।

    साइकल चोरीजस्तो चुनौतीपूर्ण परिस्थितिले केही समयका लागि यात्रा प्रभावित भए पनि आफ्नो अभियान कुनै पनि हालतमा नरोकिने उनको भनाइ छ। विश्व शान्ति र जलवायु परिवर्तनसम्बन्धी सन्देशलाई अझ व्यापक बनाउने उद्देश्यसहित उनले नयाँ साइकलमार्फत बाँकी यात्रा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।