


दमौली, १५ साउन । व्यास नगरपालिका अन्तर्गत महेन्द्र ज्योति माध्यमिक विद्यालयमा सञ्चालित बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूको श्रोत कक्षामा आवासीय रूपमा बस्दै आएका चार जना विद्यार्थी, एक जना श्रोत शिक्षक, एक जना आया तथा श्रोत कक्षामा प्रयोग हुँदै आएका आवश्यक जिन्सी सामग्री आजदेखि सिन्धु आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको छ।
व्यास नगरपालिकाको निर्णयअनुसार श्रोत कक्षाको आवासीय सेवा तथा आवश्यक शैक्षिक सामग्रीसमेत सिन्धु आधारभूत विद्यालयमा सारिएको हो। स्थानान्तरणसँगै विद्यार्थीहरूको पठनपाठन, आवासीय व्यवस्थापन र आवश्यक सहयोग अब सिन्धु आधारभूत विद्यालयबाट सञ्चालन हुने जनाइएको छ।
स्थानान्तरणका क्रममा विद्यार्थीहरूको दैनिक प्रयोगका जिन्सी सामग्री, शैक्षिक सामग्री तथा अन्य आवश्यक उपकरणहरू सुरक्षित रूपमा नयाँ विद्यालयमा पुर्याइएको थियो।
सम्बन्धित पक्षले बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूको शिक्षा, हेरचाह र समग्र विकासलाई निरन्तरता दिँदै थप प्रभावकारी सेवा उपलब्ध गराइने विश्वास व्यक्त गरेका छन्।
यस अवसरमा महेन्द्र ज्योति माध्यमिक विद्यालयमा बसेर अध्ययन गरेका विद्यार्थीहरूको आगामी शैक्षिक यात्रा सफल, सुरक्षित र उपलब्धिमूलक बनोस् भन्ने शुभकामना व्यक्त गरिएको छ। साथै, नयाँ वातावरणमा उनीहरूले थप अवसर प्राप्त गर्दै उज्ज्वल भविष्य निर्माण गर्न सकून् भन्ने अपेक्षा गरिएको छ।