


दमौली, १५ साउन । सुनसरी, सिराहा लगायतका जिल्लामा भएको धार्मिक द्वन्द्वको विरोध गर्दै दमौलीमा सदभाव र्याली निकालिने भएको छ । वेदव्यास वैदिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठान, दमौली मुस्लिम समाजको नेतृत्वमा सदभाव र्याली निकाल्न लागिएको हो । र्याली प्रशासन कार्यालयको स्वीकृतिमा आइतबार निकाल्ने तयारी गरिएको छ ।
वेदव्यास वैदिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानका अध्यक्ष खेमराज अधिकारीले सुनसरीलगायत केही जिल्लामा हालै देखिएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटनाले समाजमा भय, अविश्वास र विभाजन बढाउने बताए ।
उनले भगवान् वेदव्यासको तपोभूमिका रूपमा परिचित व्यासभूमिबाट सम्पूर्ण देशलाई शान्ति, सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्नुपर्ने आजको आवश्यकता रहेको उल्लेख गरे। “हिंसा कुनै पनि समस्याको समाधान होइन। संवाद, संयम, आपसी सम्मान र सहकार्यबाट मात्रै स्थायी शान्ति स्थापना गर्न सकिन्छ,” उनले भने।
अध्यक्ष अधिकारीले धर्म, जात, भाषा वा समुदायका आधारमा समाजलाई विभाजित गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने उल्लेख गर्दै सबै नेपालीले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र भाइचाराको संस्कृतिलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।
नेपाली कांग्रेसका युवा नेता मोहनकुमार श्रेष्ठले सुनसरी, सिराहा, धनुषालगायत विभिन्न जिल्लामा भएको हिंसाप्रति गहिरो दुःख व्यक्त गर्दै दमौलीबाट निकालिएको सद्भाव र शान्ति र्यालीले सम्पूर्ण देशलाई एकता, सहिष्णुता र सामाजिक सद्भावको सशक्त सन्देश दिनुपर्ने बताएका छन्।
उनले जात, धर्म, भाषा वा समुदायका नाममा हुने कुनै पनि प्रकारका हिंसा र द्वन्द्वले राष्ट्रलाई कमजोर बनाउने उल्लेख गर्दै सबै नेपालीले संयमता अपनाई आपसी विश्वास, भाइचारा र सद्भावलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए।
श्रेष्ठले भने, “दमौली सदियौँदेखि सामाजिक सद्भाव र सहअस्तित्वको प्रतीक बनेको भूमि हो। यही भूमिबाट शान्ति, एकता र मानवताको सन्देश देशभर फैलिनुपर्छ। हिंसा होइन, संवाद र सहिष्णुताबाट मात्रै समृद्ध समाज निर्माण सम्भव छ।”
दमौली मुस्लिम समाजका अध्यक्ष हाजी जमालदिन मियाँले तनहुँ सबै जातजाति, धर्म, भाषा र समुदायका नागरिकबीचको आपसी एकता, सद्भाव र सहअस्तित्वको उत्कृष्ट उदाहरण रहेको बताएका छन्।
उनले पछिल्लो समय देशका केही जिल्लामा देखिएको असहिष्णुता र हिंसापूर्ण घटनाप्रति चिन्ता व्यक्त गर्दै तनहुँले भने शान्ति, सहिष्णुता र आपसी सम्मानको सन्देश देशभर फैलाउनुपर्ने धारणा राखे।
उनले भने, “तनहुँमा विभिन्न धर्म, जातजाति र समुदायका मानिसहरू वर्षौँदेखि आपसी भाइचारा र सम्मानका साथ मिलेर बस्दै आएका छन्। यही सामाजिक सद्भाव हाम्रो पहिचान हो। तनहुँबाट शान्ति, एकता र सकारात्मक सन्देश देशभर फैलिनुपर्छ।”
मियाँले सबै समुदायलाई एकअर्काको धर्म, संस्कृति र आस्थाको सम्मान गर्दै सामाजिक सद्भावलाई अझ सुदृढ बनाउन तथा कुनै पनि प्रकारको विभाजन र हिंसालाई अस्वीकार गर्न आग्रह गरेका छन्।