


दमौली, १७ साउन । शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेलाई ध्यानाकर्षण पत्र बुझाउँदै निर्वाचनका क्रममा व्यक्त गरिएका विकाससम्बन्धी प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह गरेका छन्।
उक्त पत्रमा २०८२ सालको प्रतिनिधिसभा निर्वाचनका बेला गरिएको विकास, पूर्वाधार, कृषि, पर्यटन, शिक्षा तथा रोजगारीसम्बन्धी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरे क्षेत्रका दीर्घकालीन विकासका लागि स्पष्ट योजना र प्रभावकारी पहल गर्न माग गरिएको छ।
ध्यानाकर्षण पत्रमा सडक पूर्वाधारलाई प्राथमिकतामा राख्दै तनहुँ–स्याङ्जा जोड्ने बाडखोला मोटरमार्गको स्तरोन्नति तथा जस्पुर–अर्स्याङ्दी मोटरमार्गसहित भित्री सडकहरूको कालोपत्रे र स्तरोन्नतिका लागि स्पष्ट योजना सार्वजनिक गर्न आग्रह गरिएको छ।
त्यसैगरी जस्पुर, लामागाउँलगायत क्षेत्रमा लिफ्टिङ खानेपानी सञ्चालनमा रहे पनि विद्युत् आपूर्ति र मुहानको समस्याका कारण दीर्घकालीन खानेपानी संकट समाधानका लागि ठोस नीति र योजना आवश्यक रहेको उल्लेख गरिएको छ।
पर्यटनतर्फ मिलेनियम ट्रेकअन्तर्गत पर्ने लाकुरीबोट (तमु हिल पार्क), लामागाउँ तथा घरेडीको मिलेनियम गुफालाई समेटेर आगामी पाँच वर्षभित्र स्तरीय पर्यटन सर्किट निर्माण, आवश्यक पूर्वाधार विकास र प्रभावकारी प्रचार–प्रसारको योजना सार्वजनिक गर्न माग गरिएको छ।
कृषि, सिँचाइ तथा स्थानीय रोजगारीका विषयमा कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, कृषि उत्पादनको बजारीकरण तथा साना–मझौला उद्योगमार्फत युवालाई गाउँमै रोजगारी सिर्जना गर्ने स्पष्ट नीति सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
त्यस्तै, पौवा र मगरनास क्षेत्रमा रहेका खरीखानी तथा ढुंगाखानी कानुनी प्रक्रिया र वातावरणीय मापदण्ड पूरा गरी पुनः सञ्चालनमा ल्याएर प्राकृतिक स्रोतको दिगो उपयोग तथा स्थानीय रोजगारी सिर्जना गर्न पहल गर्न आग्रह गरिएको छ।
शिक्षा क्षेत्रतर्फ गाउँमै प्राविधिक तथा सीपमूलक शिक्षा सञ्चालन, शिक्षक दरबन्दी व्यवस्थापन, आवास सुविधा तथा डिजिटल कक्षाको विस्तारका लागि ठोस कार्ययोजना ल्याउन पनि ध्यानाकर्षण गराइएको छ।
पत्रमा यो पहल कुनै व्यक्ति वा राजनीतिक दलप्रति लक्षित आलोचना नभई शुक्लागण्डकी–१२, फिरफिरेका नागरिकहरूको विकासप्रतिको साझा आवाज भएको उल्लेख गर्दै जनप्रतिनिधिको सफलताको मापन भाषणले नभई जनताले अनुभूति गर्ने विकास, पूरा भएका प्रतिबद्धता र सिर्जना भएको परिवर्तनले हुने विश्वास व्यक्त गरिएको छ।