


दमौली, १८ साउन । व्यास नगरपालिका क्षेत्रमा युवाहरूको सक्रियतामा सुरु गरिएको भजन अभियानअन्तर्गत गठन गरिएको एमआरआर भजनको नामाकरण तथा समिति विघटन गरिएको छ।
अभियानमा अभिभावक तथा उत्प्रेरकको भूमिकामा सहकार्य गर्दै आएका तेजप्रसाद लामिछानेले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै नामाकरणअघि पूरा गर्नुपर्ने आवश्यक प्रक्रिया तथा एमआरआर नेतृत्वसँगको समन्वयमा केही प्राविधिक त्रुटि देखिएकाले गत शनिबार नामाकरण र त्यससँगै गठन गरिएको समिति पूर्ण रूपमा विघटन गरिएको बताएका हुन्।
उनले आज बेलुका ४:३० बजेका लागि तय गरिएको छलफल हिजो नै सम्पन्न भइसकेको जानकारी पनि दिएका छन्। यसबारे पत्रकार तथा सरोकारवालाहरूलाई सामाजिक सञ्जालमार्फत नै जानकारी गराइएको उल्लेख गरिएको छ।
साथै, आगामी शनिबार बेलुका ४:३० बजे व्यास नगरपालिकास्थित अनसन चौतारीमा स्वतःस्फूर्त रूपमा भजन कार्यक्रम आयोजना गरिने जनाउँदै सबै भजनप्रेमी, भक्तजन तथा इच्छुक नागरिकलाई आफ्ना–आफ्ना सङ्गीत वाद्यसहित उपस्थित भई कार्यक्रममा सहभागी हुन हार्दिक अपिल गरिएको छ।