


दमौली, १८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशन प्रतिनिधि राजु दाहालले सोमबार सार्वजनिक भएको रास्वपा व्यास नगर समितिको पत्रप्रति गम्भीर आपत्ति जनाएका छन्।
दाहालले तथ्यभन्दा बाहिर गएर आधारहीन आरोप लगाउँदै निर्णयतर्फ अघि बढ्नु लोकतान्त्रिक मूल्य, प्राकृतिक न्याय र संगठनात्मक मर्यादाविपरीत भएको बताएका छन्। उनले आफूले व्यावसायिक कारण देखाउँदै पार्टीबाट विश्राम लिँदा तथा पुनः सदस्यता नवीकरण गर्दा दिएको निवेदन सार्वजनिक गर्न चुनौती दिँदै, त्यसको मर्मविपरीत कपोलकल्पित र मनगढन्ते शब्द प्रयोग गरी कथित कारबाहीको निवेदन तयार गरिएको आरोप लगाएका छन्।
उनले पार्टीमा सुरुदेखि आबद्ध इमान्दार युवा कार्यकर्तामाथि पक्षपातपूर्ण व्यवहार भएको दाबी गर्दै, निर्वाचनका बेला पार्टी र तनहुँ–१ का उम्मेदवार डा. स्वर्णिम वाग्लेविरुद्ध कटाक्ष गर्नेहरू पुरस्कृत भएको तथा सीमित व्यक्तिको पदलोलुपताका कारण पार्टीभित्र गुटबन्दी मौलाएको आरोप पनि लगाएका छन्।
दाहालले आफूहरू अन्यायको मौन दर्शक नबन्ने स्पष्ट पार्दै सत्य, न्याय र लोकतान्त्रिक मूल्यको पक्षमा आवश्यक परे कानुनी तथा लोकतान्त्रिक सबै माध्यमबाट सशक्त प्रतिकार गर्ने चेतावनी दिएका छन्। साथै परिवर्तनका पक्षधर युवालाई एकताबद्ध रहन आग्रह गर्दै आफ्नो अभियान पार्टीविरुद्ध नभई पार्टीभित्र मौलाएको गलत प्रवृत्तिविरुद्ध रहेको बताएका छन्।