जेन्जी आन्दोलनमा नष्ट भएका भूमिहीनका फाइल पुनः संकलन गरिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जेन्जी आन्दोलनमा नष्ट भएका भूमिहीनका फाइल पुनः संकलन गरिने

    खबरपुञ्ज संवाददाता

    १८ श्रावण २०८३, मंगलवार

    दमाैली १९ साउन । जेन्जी आन्दोलनका क्रममा आगजनीमा परेर नष्ट भएका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका निवेदन पुनः संकलन गरिने भएको छ। जिल्ला भूमि समस्या समाधान समिति तनहुँले सार्वजनिक सूचना जारी गर्दै शुक्लागण्डकी नगरपालिकाका सम्बन्धित लाभग्राहीलाई २१ दिनभित्र पुनः निवेदन पेस गर्न आग्रह गरेको हो।

    समितिका अनुसार भूमि समस्या समाधान समिति, ताहाचल काठमाडौंको २०८३ साउन ६ गतेको अधिकार प्रत्यायोजनसम्बन्धी निर्णयअनुसार आगजनी वा तोडफोडका कारण नष्ट भएका निवेदनका सम्बन्धमा सम्बन्धित जिल्ला समितिले पुनः लगत संकलन गर्न सूचना प्रकाशन गर्ने व्यवस्था गरिएको छ।

    सोही निर्णयका आधारमा जिल्ला भूमि समस्या समाधान समिति तनहुँको साउन १४ गते बसेको बैठकले शुक्लागण्डकी नगरपालिका, दुलेगौंडामा जेन्जी आन्दोलनका क्रममा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका निवेदन फाइल आगजनीमा परी नष्ट भएकाले पुनः निवेदन संकलन गर्ने निर्णय गरेको जनाएको छ।

    सूचनाअनुसार शुक्लागण्डकी नगरपालिकाभित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले जग्गा प्राप्तिका लागि भूमि समस्या समाधान समितिले तोकेको ढाँचाअनुसारको निवेदन फाराम भरी साउन १८ गतेदेखि २१ दिनभित्र सम्बन्धित वडामा पेस गर्नुपर्नेछ।

    समितिले तोकिएको समयभित्र निवेदन पेस गरी आफ्नो विवरण अद्यावधिक गराउन सम्बन्धित सबै लाभग्राहीलाई आग्रह गरेको छ। निवेदन संकलन कार्य शुक्लागण्डकी नगरपालिकाले तोकेका सम्बन्धित वडा कार्यालयमार्फत हुने जनाइएको छ।