


दमाैली १९ साउन । जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लामा खाना पकाउने एलपी ग्यासको आपूर्ति नियमित भइरहेको जनाएको छ। केही समययता ग्यास अभाव भएको भन्दै विभिन्न स्थानबाट गुनासो आएपछि प्रशासनले सूचना जारी गर्दै अनावश्यक हल्लाको पछि नलाग्न र आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न उपभोक्तासँग आग्रह गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले ग्यासका अधिकृत विक्रेता, थोक बिक्रेता तथा जिल्ला उद्योग वाणिज्य सङ्घसँगको छलफलबाट प्राप्त जानकारीअनुसार तनहुँमा विगतमा जस्तै ग्यासको नियमित आपूर्ति भइरहेको जानकारी दिए ।

प्रशासनका अनुसार पहिले वितरण गरिएका आधा भरिएका सिलिन्डरलाई पूर्ण भरिएका सिलिन्डरले प्रतिस्थापन गरिनुका साथै उपभोक्ताले आवश्यकता भन्दा बढी ग्यास सञ्चय गर्न खोजेकाले बजारमा अभाव भएको जस्तो अवस्था देखिएको सरोकारवालाको निष्कर्ष छ।
प्रशासन कार्यालयले ग्यासको आपूर्ति र वितरण व्यवस्थाको नियमित अनुगमन गरिरहेको, विक्रेता तथा थोक बिक्रेतासँग निरन्तर समन्वय भइरहेको तथा आवश्यक परिमाणमा ग्यास आपूर्तिका लागि नेपाल आयल निगमसँग आवश्यक समन्वय गर्न सदैव तत्पर रहेको उल्लेख छ। वितरणमा कुनै अनियमितता वा कैफियत भेटिए आवश्यक कारबाही गरिने पनि प्रशासनले जनाएको छ।
प्रशासनले नेपाल आयल निगमको साउन १६ गतेको विज्ञप्ति उद्धृत गर्दै एलपी ग्यासको आयात तथा बिक्री–वितरण नियमित रूपमा भइरहेकाले ग्यास अभावको हल्लाको पछि नलाग्न सबै उपभोक्तालाई अनुरोध गरेको छ। साथै आवश्यकता भन्दा बढी ग्यास सञ्चय नगर्न तथा ग्यास डिलर र वितरकलाई वितरण व्यवस्था प्रभावकारी बनाउन आग्रह गरिएको छ।
यस्तै, ज्येष्ठ नागरिक, एकल महिला, दीर्घरोगी, होस्टलमा बस्ने विद्यार्थी, अपाङ्गता भएका व्यक्ति तथा आश्रममा रहेका व्यक्ति वा संस्थाले नियमित बिक्रेताबाट ग्यास प्राप्त गर्न नसकेमा कार्यालय समयभित्र जिल्ला प्रशासन कार्यालय तनहुँको टोल–फ्री नम्बर १८१०५०००३८८ मा सम्पर्क गर्न पनि प्रशासनले अनुरोध गरेको छ।