आबु–भागे–बन्दीपुर सडक कालोपत्रेका लागि स्थलगत सर्वे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आबु–भागे–बन्दीपुर सडक कालोपत्रेका लागि स्थलगत सर्वे

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०८३, बुधबार

    दमौली, २० साउन । संघीय सरकारबाट विनियोजित ५ करोड रुपैयाँ बजेटअन्तर्गत आबु–भागे–छिम्केश्वरी–हिलेखर्क–बाहुनभञ्ज्याङ–बन्दीपुर सडकको तेस्रो खण्डमा कालोपत्रे निर्माणका लागि स्थलगत सर्वे सम्पन्न भएको छ।

    सडक डिभिजन कार्यालय दमौलीको प्राविधिक टोलीले मंगलबार आँबुखैरेनी गाउँपालिका–५ को चरापानी खोला (जिरो किलोमिटर) देखि वडा नं. ६ को घलेडाँडा आसपाससम्म करिब १,३०० मिटर सडक कालोपत्रे गर्न आवश्यक स्थलगत अध्ययन तथा नापजाँच गरेको हो। सर्वे सम्पन्न भएसँगै अब विस्तृत प्राविधिक प्रतिवेदन तयार गरी निर्माण प्रक्रिया अघि बढाइने जनाइएको छ।

    आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले यो सडक स्थानीयवासीको लामो समयदेखिको अपेक्षा भएको बताउँदै स्थलगत सर्वे सम्पन्न हुनु विकास निर्माणको महत्त्वपूर्ण चरण भएको प्रतिक्रिया दिए। उनले सङ्घीय सरकारबाट विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गरी तोकिएको समयमै कालोपत्रे सम्पन्न गर्न गाउँपालिकाले आवश्यक समन्वय र सहजीकरण गर्ने बताए।

    अध्यक्ष चुमानले आबु–भागे–बन्दीपुर सडक पर्यटन, कृषि तथा स्थानीय आर्थिक गतिविधिसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै कालोपत्रे भएपछि स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन सहज हुने, यातायात खर्च घट्ने र बन्दीपुर तथा छिम्केश्वरी क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत उल्लेखनीय टेवा पुग्ने विश्वास व्यक्त गरे।

    उनका अनुसार सडक स्तरोन्नतिले वर्षायाममा हुने आवागमनको समस्या न्यूनीकरण गर्नुका साथै शिक्षा, स्वास्थ्य र अत्यावश्यक सेवामा स्थानीय नागरिकको पहुँच अझ सहज बनाउनेछ। गाउँपालिकाले सडक निर्माणलाई उच्च प्राथमिकतामा राख्दै सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेको पनि उनले जानकारी दिए।

    स्थानीयवासीले समेत वर्षौंदेखि धुलाम्मे र वर्षामा हिलाम्मे हुने सडक कालोपत्रे हुने प्रक्रिया अघि बढेकामा खुसी व्यक्त गरेका छन्। सर्वे सम्पन्न भएसँगै निर्माण कार्य चाँडै सुरु हुने अपेक्षा गरिएको छ।