


दमौली, २० साउन । जिल्ला कारागार कार्यालय तनहुँमा रहेका केही कैदीबन्दीमा ज्वरो र रुघाखोकीका लक्षण देखिएपछि प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँ र प्रदेश अस्पताल दमौलीको स्वास्थ्य टोलीले कारागारमा पुगेर स्वास्थ्य परीक्षण गरेको छ।
कारागारका २५ जना कैदीबन्दीको स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श तथा उपचार सेवा प्रदान गरिएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कँडेलका अनुसार कारागारमा केही कैदीबन्दीमा ज्वरो र रुघाखोकीका लक्षण देखिएपछि तत्काल स्वास्थ्य टोली परिचालन गरिएको हो। उनका अनुसार परीक्षण गरिएका बिरामीहरूको अवस्था सामान्य रहेको र आवश्यक औषधि तथा स्वास्थ्य निगरानीको व्यवस्था गरिएको छ।
कँडेलले कारागार जस्तो सामूहिक बसोबास हुने स्थानमा सरुवा रोगको जोखिम रहने भएकाले स्वास्थ्य अवस्थाको निरन्तर निगरानी, सरसफाइ, व्यक्तिगत स्वच्छता तथा आवश्यक परे थप परीक्षणको व्यवस्था गरिएको बताए।