


दमौली, २० साउन । जिल्ला प्रहरी कार्यालय तनहुँले अदालतको फैसला कार्यान्वयन तथा चालु मुद्दाका फरार प्रतिवादी पक्राउ गर्ने अभियानअन्तर्गत पाँच जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको टोलीले तनहुँ जिल्ला अदालतबाट लगत कसी फरार रहेका चार जना तथा अभद्र व्यवहारसम्बन्धी चालु मुद्दामा वारदातपछि फरार रहेका एक जनालाई पक्राउ गरी अदालतमा उपस्थित गराएको हो।
पक्राउ परेकामध्ये दुई पुरुष र एक महिलालाई अभद्र व्यवहार मुद्दामा जनही रु. १० हजार तथा रु. ५ हजार जरिवाना हुने फैसला कार्यान्वयनका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरू भारत घर भई हाल व्यास नगरपालिका–४ मा बसोबास गर्दै आएका थिए।
यस्तै, आपराधिक उपद्रव मुद्दामा फरार रहेका ऋषिङ गाउँपालिका–१ निवासी एक पुरुषलाई पनि पक्राउ गरिएको छ। साथै अभद्र व्यवहारसम्बन्धी चालु मुद्दामा फरार रहेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ निवासी एक पुरुषलाई व्यास नगरपालिका–३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी द्वारिका प्रसाद घिमिरेका अनुसार पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको छ।