


दमौली, २० साउन । तनहुँको व्यास नगरपालिका–२ अमरापुरी पानीघट्टास्थित बुल्दीखोला किनारमा बुधबार साँझ अचेत अवस्थामा भेटिएका एक पुरुषको प्रहरीले उद्धार गरेको छ।
साँझ करिब ७:१० बजे अन्दाजी ४०–४२ वर्षका जस्तो देखिने, हालसम्म नाम, थर र ठेगाना नखुलेका पुरुष अचेत अवस्थामा रहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी निरीक्षक दीपक कुमार कार्कीको कमाण्डमा १० जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरी टोलीले तत्काल उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि प्रदेश अस्पताल दमौली पठाएको जनाएको छ। अस्पताल पुर्याउँदासम्म उनी बोल्न सक्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।