


दमौली, २१ साउन । भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले आधुनिक पशु स्वास्थ्य सेवाहरू सञ्चालनमा ल्याएको छ। कार्यालय प्रमुख रविनसन अधिकारीका अनुसार गण्डकी प्रदेशका ११ जिल्लामध्ये पशुहरूको रगत परीक्षण (ब्लड टेस्ट) सेवा उपलब्ध गराउने कार्यालय तनहुँ मात्रै हो।
रगत परीक्षण सेवाबाट पशुमा देखिने विभिन्न रोगको छिटो र प्रभावकारी रूपमा पहिचान गर्न सकिने भएकाले उपचार प्रक्रिया सहज र विश्वसनीय बनेको कार्यालयले जनाएको छ।
त्यसैगरी कार्यालयले पशुहरूको हड्डीसम्बन्धी शल्यक्रिया (अर्थोपेडिक सर्जरी) सेवा पनि सुरु गरेको छ। दुर्घटना वा अन्य कारणले हड्डी भाँचिएका तथा जोर्नीसम्बन्धी समस्या भएका पशुहरूको जिल्लामै शल्यक्रिया गरी उपचार गर्न सकिने भएको छ।
यसैगरी भिडिओ एक्स–रे सेवा समेत सञ्चालनमा आइसकेको छ। आधुनिक उपकरणमार्फत पशुको आन्तरिक अवस्थाको स्पष्ट परीक्षण गरी रोगको सही निदान र उपचार गर्न यो सेवा प्रभावकारी हुने अधिकारीले जानकारी दिए।
यी आधुनिक सेवाहरू सञ्चालनमा आएपछि तनहुँका किसानलाई उपचारका लागि अन्य जिल्लामा जानुपर्ने बाध्यता हटेको छ। साथै गण्डकी प्रदेशका अन्य जिल्लाका पशुपालक किसानले समेत आवश्यक परे तनहुँबाट यी विशेष सेवाको लाभ लिन सक्ने कार्यालयले जनाएको छ।