


दमौली, २८ साउन। ग्यासको चरम अभाव, कालोबजारी तथा अत्यावश्यक वस्तुको मूल्यवृद्धि नियन्त्रणको माग गर्दै अनशन बसेका माधव प्रसाद अधिकारीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराएका छन्।
अधिकारीले आम नागरिकको दैनिक जनजीवनसँग प्रत्यक्ष जोडिएका अत्यावश्यक वस्तुको सहज आपूर्ति तथा मूल्य नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न माग गरेका हुन्। यसअघि साउन २५ गतेदेखि ग्यास अभाव र कालोबजारीविरुद्ध अनशन बसेका उनले जिल्ला प्रशासन कार्यालय तथा विभिन्न संघसंस्थाको आग्रह र आफूले उठाएका माग पूरा गर्ने प्रतिबद्धतापछि अनशन स्थगित गरेका थिए।
तर अनशन स्थगित गरे पनि ग्यास अभावलगायतका समस्या यथावत रहेको भन्दै उनले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। उनका अनुसार सर्वसाधारण घण्टौँसम्म ग्यासका लागि लाइन बस्नुपर्ने अवस्था अन्त्य हुन सकेको छैन।
अधिकारीले ग्यासको नियमित तथा सहज आपूर्ति सुनिश्चित गर्न, वितरण प्रणाली पारदर्शी बनाउन, कालोबजारी र बिचौलियाको प्रभाव नियन्त्रण गर्न तथा किसानलाई समयमै पर्याप्त रासायनिक मल उपलब्ध गराउन माग गरेका छन्। साथै पेट्रोलियम पदार्थको मूल्य निर्धारण प्रणाली पुनरावलोकन गरी अनावश्यक मूल्यवृद्धि नियन्त्रण र दैनिक उपभोग्य वस्तुको बजार अनुगमन प्रभावकारी बनाउन पनि आग्रह गरेका छन्।
‘जनताको चुल्हो निभाएर समृद्धिको सपना पूरा हुन सक्दैन। पहिले जनताको चुल्हो बलोस्, किसानको खेतमा मल पुगोस्, अनि मात्र समृद्धिको यात्रा सार्थक हुनेछ,’ अधिकारीले भनेका छन्।
उनले सरकारलाई ठूला विकास योजनासँगै नागरिकका तत्कालीन आधारभूत आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका छन्।