व्यास नगर साइनिङ स्टार : अडिसनबाट छानिए २० बालबालिका
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगर साइनिङ स्टार : अडिसनबाट छानिए २० बालबालिका

    खबरपुञ्ज संवाददाता

    ३१ श्रावण २०८३, सोमबार

    दमौली, १ भदौ । जेसीआइ व्यास नगरद्वारा आयोजित व्यास नगर साइनिङ स्टारका लागि २० बालबालिका छनोट भएका छन् । शनिबार र आइतबार सम्पन्न अडिसनबाट २० बालबालिका छनोट भएका हुन् । अडिसनमा १८३ बालबालिका सहभागी थिए । अडिसनबाट छानिएका बालबालिकालाई एक महिनासम्म प्रशिक्षण दिइनेछ ।

    अडिसनमा बालबालिकाले फरक-फरक विधामा प्रतिस्पर्धा गरेका थिए । साइनिङ स्टारको फाइनल असोज ३ गते हुनेछ ।

    व्यास नगर साइनिङ स्टारलाई केवल प्रतियोगिताका रूपमा नभई बालबालिकाको प्रतिभा पहिचान र व्यक्तित्व विकासको अभियानका रूपमा अघि बढाइएको मूल संयोजक सुनिल श्रेष्ठले बताए ।

    प्रशिक्षणमा व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्व, नेतृत्व विकास, सञ्चार सीप, आत्मविश्वास अभिवृद्धि, मञ्च प्रस्तुति, नृत्य, मञ्च तथा ¥याम्प प्रस्तुति, समूहगत कार्य, परियोजना कार्य, सामाजिक उत्तरदायित्व, वित्तीय साक्षरता, साइबर अपराधसम्बन्धी सचेतना, कृत्रिम बुद्धिमत्ता तथा शैक्षिक भ्रमणलगायतका विषय समेटिनेछन् ।

    “हाम्रो उद्धेश्य को पहिलो र को दोस्रो भयो भन्नेमा मात्र सीमित छैन । प्रतियोगिताबाट बाहिरिँदा हरेक बालबालिकाले नयाँ अनुभव, आत्मविश्वास, ज्ञान र जीवनोपयोगी सीप लिएर फर्कियोस् भन्ने हाम्रो चाहना हो,” श्रेष्ठले भने ।

    जेसीआइ व्यास नगरका अध्यक्ष अजर नागिलाले व्यास नगर साइनिङ स्टारको ११औँ संस्करणसम्मको यात्रा समुदाय, अभिभावक, विद्यालय र बालबालिकाले गरेको विश्वासको परिणाम भएको बताए । विगतका १० संस्करणबाट प्राप्त अनुभवलाई आधार बनाएर यस वर्ष कार्यक्रमलाई अझ व्यवस्थित, निष्पक्ष र प्रभावकारी बनाइएको उनले बताए ।

    “हामीले जितेका ट्रफीभन्दा ठूलो उपलब्धि प्रतियोगी बालबालिकामा आएको आत्मविश्वास र व्यक्तित्वमा आएको परिवर्तन हो,” अध्यक्ष नागिलाले भने, “व्यास नगर साइनिङ स्टार एउटा प्रतियोगिता मात्र होइन, बाल प्रतिभालाई अवसर र भविष्यलाई दिशा दिने अभियान हो ।”

    करिब एक महिनाको प्रशिक्षणपछि असोज ३ गते दिउँसो ३ बजेदेखि दमौली सभा हलमा अन्तिम प्रतिस्पर्धा आयोजना गरिनेछ । अन्तिम प्रतिस्पर्धामा प्रतियोगीको अन्तिम प्रस्तुतिसँगै प्रशिक्षण अवधिको प्रदर्शन, अनुशासन, गतिविधि र समग्र प्रगतिलाई समेत मूल्याङ्न गरिने जनाइएको छ ।

    प्रतियोगिताको मुख्य विजेताले उपाधिसहित नगद रु २६ हजार २६, प्रथम उपविजेताले रु १५ हजार २६ र द्वितीय उपविजेताले रु दश हजार २६ प्राप्त गर्नेछन् ।

    त्यसैगरी उत्कृष्ट व्यक्तित्व, उत्कृष्ट मञ्च प्रस्तुति, आकर्षक मुस्कान, उत्कृष्ट पोसाक, अनुशासन, उत्कृष्ट परियोजना प्रस्तुति, दर्शक छनोट, सामाजिक प्रभाव, आकर्षक तस्बिर तथा आत्मविश्वासी प्रस्तुतिलगायत विभिन्न विधामा विशेष उपाधि प्रदान गरिने आयोजकले जनाएको छ।