‘ग्यास अभाव समस्या होइन, नीति र कार्यान्वयनको अभाव हो’ : सांसद न्यौपाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘ग्यास अभाव समस्या होइन, नीति र कार्यान्वयनको अभाव हो’ : सांसद न्यौपाने

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०८३, मंगलवार

    दमाैली २ भदाै । तनहुँ क्षेत्र नं. २ का सांसद श्रीराम न्यौपानेले मुलुकमा देखिएको ग्यास अभाव तत्कालीन आपूर्तिको समस्या मात्र नभई ऊर्जा नीति, ठोस योजना र कार्यान्वयनको अभावको परिणाम भएको बतैएका छन् ।

    मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद न्यौपानेले ग्यास अभाव हुनु विडम्बनाको विषय भएको बताए। ग्यास नपाएको गुनासो लिएर सांसदहरूलाई समेत सर्वसाधारणले फोन गर्ने गरेको उनले उल्लेख गरे।तर, अहिले देखिएको समस्या ग्यासको अभाव मात्र नभएको उनको भनाइ थियो। ९५ प्रतिशत नेपाली भान्सालाई आयातित ग्यास, दाउरा र गुइँठाबाट मुक्त गरी स्वच्छ विद्युतीय भान्सातर्फ लैजाने ऊर्जा, जल तथा जलस्रोतसम्बन्धी सोच, कानुन र नीतिको अभाव मुख्य समस्या भएको उनले बताए।

    उनले नेपालमा पर्याप्त विद्युत् उत्पादन भइरहे पनि त्यसको प्रभावकारी उपयोग गरी नेपाली भान्सालाई विद्युतीय ऊर्जामा रूपान्तरण गर्ने ठोस योजना बन्न नसकेको बताए।“समस्या ग्यासको होइन, ९५ प्रतिशत नेपाली भान्सालाई आयातित ग्यास, दाउरा र गुइँठाबाट मुक्त गरी स्वच्छ विद्युतीय भान्सातर्फ लैजाने ऊर्जा, जल तथा जलस्रोत सोच, कानुन र नीतिको अभाव हो,” न्यौपानेले भने।

    उनले ठोस योजना र त्यसको प्रभावकारी कार्यान्वयनको अभावले समस्या थप जटिल बनेको बताए ।चार महिनासम्म सरकारले यस विषयमा स्पष्ट रोडम्याप तयार गर्न नसकेको भन्दै सांसद न्यौपानेले सरकारको इच्छाशक्ति र नेतृत्व क्षमतामाथि समेत प्रश्न उठाए।