


दमौली, २ भदौ । व्यास नगरपालिकाले सडक पेटी तथा सार्वजनिक आवागमनमा अवरोध हुनेगरी निर्माण गरिएका पक्की संरचना, र्याम्प, सिँढी, बरन्डा तथा सडक अधिकार क्षेत्रभित्र पर्ने टिनका छज्जालगायतका संरचना ७ दिनभित्र स्वयं हटाउन घरधनी तथा सम्बन्धित पक्षलाई अन्तिम पटक सूचना जारी गरेको छ।
नगरपालिकाले यसअघि २०८३ जेठ २५ गते पहिलो पटक ३५ दिने र साउन १ गते दोस्रो पटक १५ दिने सूचना प्रकाशित गरेको थियो। सूचनापछि धेरै घरधनीले आफैं संरचना हटाए पनि केही स्थानमा अझै त्यस्ता संरचना कायम रहेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले सम्बन्धित घरधनीलाई व्यक्तिगत रूपमा समेत पत्राचार गरेको जनाएको छ। पत्र प्राप्त नभएको भए पनि सार्वजनिक सूचनालाई नै आधार मानी सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र संरचना हटाउन आग्रह गरिएको छ।
तोकिएको समयभित्र संरचना नहटाए नगरपालिकाले प्रचलित कानून तथा नगर कार्यपालिकाको निर्णयअनुसार आफैं संरचना हटाउने र त्यस क्रममा लागेको सम्पूर्ण खर्च सम्बन्धित घरधनी वा पक्षबाट असुलउपर गर्ने जनाएको छ। साथै आवश्यक कानुनी कारबाहीसमेत अघि बढाइने नगरपालिकाले स्पष्ट पारेको छ।
नगरपालिकाले सडक पेटी र सार्वजनिक आवागमन सहज बनाउन सहयोग गर्न सबै घरधनी तथा सम्बन्धित पक्षलाई आग्रह गरेको छ।