


दमौली, ३ भदौ । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लामा प्रवेश गर्ने भारतीय सवारी साधनका चालकलाई लक्षित गरी सञ्चालन गरेको सडक सुरक्षा सचेतना कार्यक्रम प्रभावकारी देखिएको छ।
साउन महिनाभर सञ्चालन गरिएको कार्यक्रममा भारतीय सवारी चालकलाई सडकको अवस्था, गति नियन्त्रण, मौसमको अवस्था तथा सुरक्षित यात्रा लगायतका विषयमा सचेत गराइएको प्रहरीले जनाएको छ। कार्यक्रमका कारण भारतीय सवारी साधनबाट हुने दुर्घटनामा कमी आएको र साउन महिनाभर भारतीय सवारी साधनबाट कुनै पनि दुर्घटना नभएको प्रहरीले जनाएको छ।
गत असार महिनामा भने भारतीय सवारी साधनबाट ३ वटा दुर्घटना हुँदा ३ जनाको मृत्यु र ४ जना घाइते भएका थिए।
यसैक्रममा आज बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म तनहुँका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलचौताराले ५० वटा र इलाका प्रहरी कार्यालय आबुखैरेनीले ३३ वटा भारतीय सवारी साधनका चालकलाई सचेतना प्रदान गरेको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटना न्यूनीकरणका लागि आगामी दिनमा पनि भारतीय तथा अन्य सवारी साधनका चालकलाई लक्षित गरी सडक सुरक्षा सचेतना कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।