


दमौली, १९ साउन । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको कामना गर्दै दमौलीमा रहेका विभिन्न लायन्स क्लबहरूको संयुक्त आयोजनामा मंगलबार साँझ दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य तथा लायन्सका पूर्व गभर्नर अशोककुमार श्रेष्ठले समाजमा जात, धर्म वा समुदायका आधारमा कुनै पनि प्रकारको द्वन्द्व हुन नहुने बताए । उनले विविधताभित्रको एकता नै नेपालको विशेषता भएकाले सबैले मिलेर बस्ने संस्कृतिलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए।
“जात र धर्मका आधारमा देशमा द्वन्द्व हुनु हुँदैन। हामी सबैले आपसी शान्ति, सद्भाव र भाइचारालाई कायम राख्द अघि बढ्नुपर्छ,” उनले भने।
श्रेष्ठले सामाजिक सद्भाव कायम राख्न नागरिक, सामाजिक संघसंस्था र सबै सरोकारवालाले साझा जिम्मेवारी निर्वाह गर्नुपर्ने उल्लेख गर्दै यस्ता कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विभिन्न लायन्स क्लबका पदाधिकारी, सदस्य तथा स्थानीयको सहभागिता रहेको थियो। सहभागीहरूले दीप प्रज्वलन गर्दै देशमा स्थायी शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम रहोस् भन्ने कामना गरेका थिए।