तनहुँमा ग्यासको अभाव भएपछि युवाद्वारा जिल्ला प्रशासनलाई ध्यानाकर्षण पत्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा ग्यासको अभाव भएपछि युवाद्वारा जिल्ला प्रशासनलाई ध्यानाकर्षण पत्र

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०८३, बुधबार

    दमौली, २० साउन । जिल्लामा खाना पकाउने ग्यासको चरम अभाव देखिन थालेपछि दमौलीका युवाहरुले जिल्ला प्रशासन कार्यालय तनहुँलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

    दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तुको रुपमा रहेको ग्यासको अभावले विपन्न परिवार, मजदुर, ज्येष्ठ नागरिक र डेरा गरी बसेका विद्यार्थीहरुको भान्सा नै बन्द हुने स्थिति सिर्जना भएको पत्रमा उल्लेख छ।

    बजारमा पर्याप्त ग्यास आपूर्ति नहुँदा नागरिकहरु डिपोमा लाइन बस्न बाध्य छन्। केही गैरजिम्मेवार विक्रेताहरुले कृत्रिम अभाव खडा गर्ने, ग्यास लुकाउने र कालोबजारी गरी चर्को मूल्य असुल गरिरहेको जनगुनासो व्यापक रुपमा बढेको पत्रमा उल्लेख छ।

    पत्रमा जिल्ला प्रशासन कार्यालयलाई तीन बुँदे माग गरिएको छ। पहिलो, व्यास नगरपालिका क्षेत्रभित्र रहेका ग्यास डिपो तथा विक्रेताहरुमाथि आकस्मिक र सघन अनुगमन गरी कृत्रिम अभाव सिर्जना गर्ने वा महँगोमा बेच्नेलाई तत्काल कडा कानूनी कारबाही गर्नुपर्ने। दोस्रो, जिल्लामा भित्रिएका ग्यास सिलिन्डरहरुको रेकर्ड पारदर्शी बनाउनुपर्ने। तेस्रो, नेपाल आयल निगम, ग्यास उद्योग संघ र स्थानीय डिलरहरुसँग प्रशासनले तत्काल समन्वय गरी तनहुँ जिल्लाका लागि आवश्यक ग्यासको कोटा बढाउने र नियमित आपूर्ति सुनिश्चित गर्नुपर्ने।

    पत्रमा जनताको दैनिक जीवनसँग जोडिएको यस संवेदनशील विषयलाई गम्भीरतापूर्वक लिई यथाशीघ्र ग्यास आपूर्ति सहज बनाउन आवश्यक पहल कदम हुनेछ भन्ने पूर्ण विश्वास लिइएको उल्लेख छ। अन्यथा आम उपभोक्ताको हकहितका लागि थप दबाबमूलक कार्यक्रमहरु सञ्चालन गर्न बाध्य हुने चेतावनी पनि दिइएको छ।

    गोविन्द श्रेष्ठको नेतृत्वमा दमौलीका युवाहरुको सहभागितामा उक्त पत्र जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीलाई हस्तान्तरण गरिएको छ।