


दमौली, २१ साउन । म्याग्दे गाउँपालिका–२, तनहुँस्थित उमाचोक सामुदायिक वन उपभोक्ता समूह यस वर्षको प्रतिष्ठित गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने भएको छ।
वन तथा भू–संरक्षण विभागको आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत उमाचोक सामुदायिक वनलाई उक्त राष्ट्रिय पुरस्कार प्रदान गर्न लागिएको हो।
यससँगै म्याग्दे गाउँपालिका–२ कै डुनडाँडा कबुलियती वन समूह ‘क’ कबुलियती वन राष्ट्रिय पुरस्कार तथा बन्दीपुर गाउँपालिका–१ का मानकाजी श्रेष्ठको निजी वन निजी वन राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने भएका छन्।
उक्त पुरस्कार साउन २५ गते प्रदान गरिनेछ ।
डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले राष्ट्रियस्तरका तीनवटा पुरस्कार तनहुँका वन समूह र निजी वनले प्राप्त गर्नु जिल्लाका लागि गौरवको विषय भएको बताए। यस्ता पुरस्कारले सामुदायिक तथा निजी वन व्यवस्थापनमा संलग्न उपभोक्ता र सरोकारवालालाई थप जिम्मेवार र उत्साहित बनाउने विश्वास उनले व्यक्त गरे।