


दमाैली २३ साउन । सरकारी कार्यालयमा सामान्यतया सार्वजनिक बिदाका दिन सेवा प्रवाह हुँदैन । तर, जिल्ला प्रशासन कार्यालय तनहुँले भने राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै बिदाको दिनसमेत कार्यालय खोलेर सेवा दिन थालेको छ ।
नियमित कार्यालय समयमा विद्यालय, कलेज तथा अन्य काममा व्यस्त हुने सेवाग्राहीका लागि बिदाको दिन दिइएको यो सेवाले सहजता थपेको छ । व्यास नगरपालिका–२ निवासी अपेक्षा सुनार पनि यसको प्रत्यक्ष लाभ लिने सेवाग्राहीमध्ये एक हुन् ।
सत्यवती माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत सुनारलाई विद्यालय सञ्चालन हुने दिन प्रशासन कार्यालय पुगेर राष्ट्रिय परिचयपत्र बनाउन कठिन थियो । विद्यालयको पढाइ प्रभावित हुने भएकाले उनले बिदाको दिनको अवसरको फाइदा लिएकी छन् ।
प्रशासन कार्यालयले शनिबार र आइतबार राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा दिएकाले बिदाको दिन कार्यालय पुगेर उनले आफ्नो परिचयपत्रका लागि आवश्यक प्रक्रिया पूरा गरेकी छन् । “अरू दिन विद्यालय जानुपर्छ । बिदाको दिन कार्यालय खुलेर राष्ट्रिय परिचयपत्रको सेवा दिएपछि धेरै सहज भयो,” उनले भनिन् ।
सुनारको जस्तै समस्या धेरै विद्यार्थी तथा नियमित कार्यालय समयमा व्यस्त रहने सेवाग्राहीको छ । राष्ट्रिय परिचयपत्र अहिले विभिन्न सरकारी सेवा, राहदानीलगायतका काममा आवश्यक पर्ने महत्वपूर्ण परिचयपत्र बन्दै गएपछि यसको आवश्यकता बढेको छ । त्यससँगै जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको सङ्ख्या पनि पछिल्ला दिनमा उल्लेख्य रूपमा बढेको छ ।
राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीको चाप अत्यधिक बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले सेवा प्रवाहलाई सहज बनाउन सार्वजनिक बिदाको दिनसमेत सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।
शनिबार र आइतबार बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिए ।
उनका अनुसार कार्यालयमा सेवाग्राहीको चाप बढ्दै गएपछि नियमित कार्यदिनमा मात्रै सेवा दिँदा धेरै सेवाग्राहीले समय व्यवस्थापन गर्न समस्या भोग्नुपर्ने अवस्था आएको थियो । त्यसलाई ध्यानमा राखेर बिदाको दिनसमेत सेवा सञ्चालन गरिएको हो ।
विशेषगरी विद्यार्थी, निजी क्षेत्रमा कार्यरत कर्मचारी, व्यवसायी तथा नियमित कार्यालय समयमा आफ्नो काममा व्यस्त रहने नागरिकका लागि बिदाको दिनको सेवा प्रभावकारी हुने प्रशासनको अपेक्षा छ ।
कार्यालयले सेवाग्राहीको भीडलाई व्यवस्थित बनाउन टोकन प्रणालीलाई पनि प्राथमिकता दिएको छ । उनले सेवाग्राहीलाई तोकिएको मितिमा कार्यालयबाट टोकन लिएर आफ्नो पालोअनुसार सेवा लिन आग्रह गेका छन् ।
यसले एकैपटक ठूलो सङ्ख्यामा सेवाग्राही कार्यालयमा जम्मा हुँदा उत्पन्न हुने भीड कम गर्नुका साथै सेवा प्रवाहलाई व्यवस्थित बनाउन सहयोग गर्ने उनकाे भनाइ छ ।