दमौलीमा ग्यासको हाहाकार, सहज आपूर्तिको माग गर्दै माधव अधिकारी अनसनमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीमा ग्यासको हाहाकार, सहज आपूर्तिको माग गर्दै माधव अधिकारी अनसनमा

    खबरपुञ्ज संवाददाता

    २४ श्रावण २०८३, सोमबार

    दमौली, २५ साउन । तनहुँको दमौलीमा खाना पकाउने ग्यासको अभाव चर्किँदै गएपछि सहज र नियमित आपूर्तिको माग गर्दै माधव अधिकारीले अनसन सुरु गरेका छन्।

    व्यास नगरपालिका–३ स्थित अनसन चौतारीमा अधिकारीले आजदेखि अनसन सुरु गरेका हुन्। बजारमा पर्याप्त मात्रामा ग्यास उपलब्ध हुन नसक्दा सर्वसाधारण उपभोक्ता लामो समयदेखि समस्यामा परेको भन्दै उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराउन अनसन सुरु गरेको बताएका छन्।

    ग्यासको अभावका कारण सर्वसाधारणले घण्टौँ लाइन बस्नुपर्ने, आवश्यक परिमाणमा ग्यास नपाउने तथा दैनिक खाना पकाउनेजस्तो अत्यावश्यक कामसमेत प्रभावित हुने अवस्था सिर्जना भएको अधिकारीको भनाइ छ।

    “ग्यासजस्तो अत्यावश्यक वस्तुको सहज आपूर्ति हुनुपर्छ। सर्वसाधारणले अभावका कारण दुःख पाउने अवस्था अन्त्य गर्न सम्बन्धित निकाय गम्भीर बन्नुपर्छ,” अधिकारीले भने ।

    उनले दमौली तथा आसपासका क्षेत्रमा ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न तथा उपभोक्ताले सहज रूपमा ग्यास पाउने व्यवस्था मिलाउन माग गरेका छन्।

    ग्यासको अभाव लामो समयसम्म कायम रहेमा यसको प्रत्यक्ष असर सर्वसाधारणको दैनिक जनजीवनमा पर्ने भन्दै अधिकारीले समस्या समाधानका लागि स्थानीय प्रशासन, सम्बन्धित सरकारी निकाय तथा ग्यास व्यवसायीहरूबीच तत्काल समन्वय हुनुपर्ने बताएका छन्।