


तनहुँ ७ भदाै। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मुग्लिन पुलजीस्थित पृथ्वीराजमार्गबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको UP56BK 6760 नम्बरको कारलाई प्रहरी चेकिङ टोलीले जाँच गर्ने क्रममा चालकको सिट पछाडि थैलीमा लुकाइछिपाइ राखेको अवस्थामा लागुऔषध बरामद गरेको हो ।
प्रहरीका अनुसार कारबाट डाइजापाम १२ एम्पुल, फेनरागान १० एम्पुल र ब्युप्रेनोर्फिन १० एम्पुल गरी जम्मा ३२ एम्पुल प्रतिबन्धित लागुऔषध बरामद भएको छ ।
पक्राउ पर्नेमा भारत उत्तर महाराजगञ्ज जिल्ला शिरसिया बस्ने २३ वर्षीय भुलन खान, २१ वर्षीय अमन चौधरी र २६ वर्षीय सन्दिप चौधरी रहेका छन् ।
लागुऔषधसहित नियन्त्रणमा लिइएका तीनै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आँबुखैरेनी, तनहुँ पठाइएको प्रहरीले जनाएको छ ।