


तनहुँ, १९ भदौ । बाढी तथा विभिन्न विपद्मा परी ज्यान गुमाएकाहरूको सम्झनामा आँबुखैरेनीमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ।
आँबुखैरेनी संस्कृति संरक्षण मञ्चको आयोजनामा भएको कार्यक्रममा विभिन्न टोल विकास संस्था, आमा तथा महिला समूह, धार्मिक संस्था र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममार्फत बाढी तथा अन्य विपद्मा परी ज्यान गुमाएका सम्पूर्ण दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जलि अर्पण गरिएको मञ्चले जनाएको छ।
साथै, विपदमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै हालसम्म सम्पर्कविहीन तथा हराइरहेका व्यक्तिहरूको सकुशल उद्धार र परिवारसँग शीघ्र पुनर्मिलन होस् भन्ने कामना गरिएको थियो।
दीप प्रज्वलन कार्यक्रममा उपस्थित भएर पीडित परिवारप्रति ऐक्यबद्धता, सद्भाव र मानवीय संवेदना प्रकट गर्ने सम्पूर्ण व्यक्ति तथा संघसंस्थाप्रति मञ्चले हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।