


पोखरा, २७ भदौ । पोखरा निवासी सुअना बरालले आफ्नो पाँचौँ जन्मोत्सवको अवसरमा खुत्रुकेमा जम्मा गरेको ९ हजार १ सय ७५ बाढीपीडितका लागि सहयोग गरेकी छन्।
सुअनाले एक वर्षको अवधिमा आफ्नो खुत्रुकेमा जम्मा गर्दै आएको रकम देशमा आएको विषम प्राकृतिक प्रकोपबाट प्रभावित बाढीपीडितलाई सहयोग होस् भन्ने उद्देश्यले प्रदान गरेकी हुन्।
छोरीको जन्मदिनको अवसरमा व्यास नगरपालिकाका लेखा अधिकृत रहेका बुबा अर्जुन बरालले सुअनाको सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै धेरै पढ्ने, ज्ञानी र संस्कारी बन्न तथा सबैलाई माया गर्ने छोरीका रूपमा अघि बढ्न शुभकामना दिएका छन्।
सानै उमेरमा आफ्नो खुत्रुकेमा जम्मा भएको रकम विपद्मा परेका नागरिकका लागि सहयोग गर्ने सुअनाको भावनाको प्रशंसा गर्दै बुबा बरालले छोरीलाई धन्यवादसहित जन्मदिनको शुभकामना व्यक्त गरेका छन्।