


तनहुँ, २८ भदौ । राष्ट्रिय भलिबल खेलाडी सुजन सुनारलाई गोरखकाली युवा क्लब, बन्दीपुर–४ भुमर्सेले नगद १० हजार रुपैयाँसहित सम्मान गरेको छ। क्लबले आयोजना गरेको नवौँ जिवाइसी कप २०८३ को अवसरमा सुनारलाई सम्मान गरिएको हो।
बन्दीपुर–३ राउटारमा जन्मिएका सुनारले नेपाल यू–२० राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै श्रीलङ्कामा आयोजित काभा यु-२० च्याम्पियनसिपमा उपविजेता बनेका थिए। उनले सन् २०२५ अक्टोबर २२ देखि २८ सम्म बंगलादेशको ढाकामा आयोजित काभा कप पुरुष २०२५ मा समेत नेपालको प्रतिनिधित्व गरेका थिए।
राष्ट्रिय स्तरमा नेपाल पुलिस क्लबबाट खेल्दै उनले प्रधानमन्त्री कप एनभिए लिगमा दोस्रो रनरअप तथा पोखरामा आयोजित एनसेल टाइगर कपमा उपविजेताको उपलब्धि हासिल गरेका छन्।
क्लबले सुनारको खेलप्रतिको समर्पण, अनुशासन र योगदानको कदर गर्दै सम्मान गरेको जनाएको छ। साथै, उनको आगामी खेलयात्राको सफलता तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा थप उपलब्धिका लागि शुभकामना व्यक्त गरेको छ।