‘नवौं जिवाइसी कप’ भलिबल प्रतियोगिताको उपाधि हरिनास-६ लाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    ‘नवौं जिवाइसी कप’ भलिबल प्रतियोगिताको उपाधि हरिनास-६ लाई

    खबरपुञ्ज संवाददाता

    २८ भाद्र २०८३, सोमबार

    तनहुँ २९ भदाै । तनहुँको बन्दीपुर गाउँपालिका–२ थारुबासमा आयोजित बन्दीपुरकै सर्वाधिक पुरस्कार राशिको ‘नवौं गोरखकाली (जिवाइसी) कप–२०८३’ गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि हरिनास गाउँपालिका–६ ले जितेको छ।

    आयोजक गोरखकाली युवा क्लब बन्दीपुर–४ भुमर्से उपविजेता बनेको छ।सोमबार हरितालिका तीजको दिन सम्पन्न फाइनल खेलमा हरिनास–६ ले आयोजक गोरखकाली युवा क्लबलाई बेस्ट अफ फाइभको खेलमा लगातार तीन सेटमा पराजित गर्दै उपाधि जितेको हो।यस्तै, तृतीय स्थानका लागि भएको खेलमा सेराटार युवा क्लब बन्दीपुरले मिलिजुली युवा क्लब खहरेलाई पराजित गरेको छ।

    पाँच सेटसम्म चलेको खेलमा पहिलो र दोस्रो सेट सेराटारले जितेको थियो भने तेस्रो र चौथो सेट मिलिजुलीले आफ्नो पक्षमा पारेको थियो। निर्णायक पाँचौं सेटमा जित निकाल्दै सेराटारले तृतीय स्थान हासिल गरेको हो।

    प्रतियोगितामा प्रथम हुने हरिनास–६ ले रु. १ लाख १ हजार १ सय ११, द्वितीय हुने आयोजक गोरखकाली युवा क्लबले रु. ५१ हजार १ सय ११ र तृतीय हुने सेराटार युवा क्लबले रु. ३१ हजार १ सय ११ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्।

    प्रतियोगितामा सेराटार युवा क्लबका सुगम सुनार उत्कृष्ट सटर घोषित भए। गोरखकाली युवा क्लबका संगीत मानन्धर उत्कृष्ट क्लिन अट्याकर, सुभाष थापा उत्कृष्ट डिफेन्डर र सुशील खड्का उत्कृष्ट स्पाइकर घोषित भए। त्यस्तै, उत्कृष्ट टिम कोच विक्की गुरुङ र उत्कृष्ट खेलाडी विकल थापा घोषित भए।प्रतियोगिताका क्रममा गोरखकाली युवा क्लबका पूर्वअध्यक्ष स्वर्गीय यामबहादुर थापाकी छोरीलाई रु. २० हजार आर्थिक सहयोगसमेत प्रदान गरिएको थियो।

    समापन कार्यक्रममा प्रमुख अतिथि बन्दीपुर गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङले गाउँस्तरमा हुने यस्ता प्रतियोगिताले खेलाडीको प्रतिभा पहिचान र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् । बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिंह थापाले खेलकुदलाई मनोरञ्जनका रूपमा मात्र नभई युवाको क्षमता विकास र अनुशासनसँग जोडेर अघि बढाउनुपर्ने बताए।