


तनहुँ, १२ असोज । शिक्षा क्षेत्रमा सहयोग जुटाउने उद्देश्यसहित तनहुँको शुक्लागण्डकीमा लोकप्रिय नेपाली सांगीतिक ब्याण्ड नेपथ्यको भव्य प्रस्तुति हुने भएको छ।
लायन्स क्लब अफ शुक्लागण्डकीको आयोजनामा ‘गण्डकीको सुस्केरामा नेपथ्यको धून : नेपथ्य लाइभ इन शुक्लागण्डकी’ नामक सांगीतिक कार्यक्रम आगामी मंसिर १२ गते भानुभक्त बहुमुखी क्याम्पस, बेलचौताराको खेलमैदानमा आयोजना हुने भएको हो।
कार्यक्रममा गायक अमृत गुरुङ नेतृत्वको नेपथ्य ब्याण्डले प्रस्तुति दिनेछ। आयोजकका अनुसार कार्यक्रममा १० हजारभन्दा बढी संगीतप्रेमीको सहभागिता हुने अपेक्षा गरिएको साेमबार आयाेजित पत्रकार सम्मेलनमा जानकारी गराइएकाे छ ।
लायन्स क्लब इन्टरनेशनलको ‘पढाउ’ अभियानअन्तर्गत आयोजना गर्न लागिएको कार्यक्रमबाट प्राप्त आम्दानी शिक्षा क्षेत्रमा खर्च गरिने कार्यक्रम संयोजक खुमबहादुर विकले बताए । कार्यक्रमबाट करिब १ करोड रुपैयाँ आम्दानी हुने र ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। खर्च कटाएर बचत हुने करिब २० लाख रुपैयाँबाट विपन्न विद्यार्थीलाई छात्रवृत्ति, शैक्षिक सामग्री तथा पोसाक वितरण गर्ने लक्ष्य राखिएको उनले बताए ।
विकका अनुसार सांगीतिक कार्यक्रममार्फत विद्यार्थी तथा युवालाई सकारात्मक र सिर्जनात्मक गतिविधिमा जोड्नुका साथै सामाजिक एकता र सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यसमेत रहेको छ।
कार्यक्रमले शुक्लागण्डकीलाई सांगीतिक गन्तव्यका रूपमा स्थापित गर्न, स्थानीय व्यवसाय तथा पर्यटन क्षेत्रलाई चलायमान बनाउन र सामाजिक सेवाका अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने क्लवका अध्यक्ष देवेन्द्र ढुंगानाले बताए ।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले चर्चित व्याण्ड नेपथ्य शुक्लागण्डकीमा आयोजना हुनु खुसीको कुरा भएको बताउँदै यसलाई सबैले सफल बनाउन लाग्नुपर्ने बताए ।
भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–५ का वडाध्यक्ष दीर्घबहादुर थापा लगायतले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।