


चितवन, १० कात्तिक । चितवनको इच्छाकामना गाउँपालिका–०४ धारापानीस्थित पृथ्वी राजमार्गमा तीनवटा सवारीसाधन एक-आपसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।
मंगलबार बिहान करिब ०९:२० बजे काठमाडौंमाबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोलाई विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बसले ठक्कर दिएको थियो ।
बस अनियन्त्रित भई काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ६१३ नम्बरको ट्रकमा समेत ठोक्किएपछि दुर्घटना भएको हो । दुर्घटनामा बस र माइक्रोमा सवार १० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि कुरिनटारस्थित सशस्त्र प्रहरी पृथ्वी हाईवे ट्रमा सेन्टर तथा इच्छाकामना गाउँपालिका अस्पतालमा लगिएको छ ।
हालसम्म इच्छाकामना गाउँपालिका अस्पताल कुरिनटारमा उपचाररत घाइतेहरूको विवरण निम्न छः
माइक्रोमा सवार घाइतेहरू:-
१. जिल्ला बारा, निजगढ बस्ने ४२ वर्षीय कुमार जोशी,
२. जिल्ला नवलपुर, कावासोती नगरपालिका –०३ बस्ने ३८ वर्षीय खेमबहादुर गुरुङ,
३. जिल्ला नवलपुर, कावासोती नगरपालिका –०३ बस्ने ४२ वर्षीय मुराबहादुर कुमाल,
बसमा सवार घाइतेहरू:-
४. जिल्ला झापा, दमक नगरपालिका –०३ बस्ने ४८ वर्षीया कल्पना पोखरेल,
५. जिल्ला झापा, बिर्तामोड नगरपालिका –०५ बस्ने २२ वर्षीय रोमन भट्टराई रहेका छन् ।
दुर्घटनामा परी घाइते भएका थप पाँच जना घाइतेहरुको ठेगाना सहितको नामावली विवरण आउन बाँकी रहेको छ । र दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको छ ।